+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय निर्वाचन लड्ने मानुषीको घोषणा : सबैको पारिवारिक पृष्ठिभूमि हुन्छ, यसमै जोड्न जरुरी छैन

पालिका लाइभ
२०७९ जेष्ठ २५, बुधबार

काठमाडौं– बालेन साहको विजयपछि काठमाडौंमा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने युवाहरूको संख्या बढिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का केही युवा नेताहरूले मानुषी यमी भट्टराईलाई चुनाव लड्ने तयारी गर्न सुझाव दिएका छन् ।

जसपाका केही युवा नेताहरूले बुधवार मानुषीलाई भेटेर आउने चुनावमा संघीय सांसद बन्ने गरी काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट उम्मेदवारको तयारी गर्न आग्रह गरेका हुन् । क्षेत्र न ५ नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र ७ एमालेका नै रामवीर मानन्धर निर्वाचित भएको क्षेत्र हो ।

डा.बाबुराम भट्टराई र हिसिला यमीको एकमात्र उत्तराधिकारी मानुषी आफैँ पनि राजनीति तथा सामाजिक काममा सक्रिय छन् । मानुषीले भने पार्टीका युवा नेताहरूको आग्रहलाई सकारात्मक रूपमा लिएको भन्दै थप छलफल गर्ने बताएकी छन् ।

काठमाडौं ७ मा हिसिला यमी पहिलो संविधानसभा निर्वाचनमा विजयी भएकी थिइन् भने दोस्रोमा पराजित भएकी थिइन् । उनले आफूलाई चुनाव लड्न पार्टीले प्रस्ताव गरेको र आफू पनि तयार रहेको स्वीकार गरेकी छन्।

‘पार्टीभित्रबाट युवाहरू अगाडि आउनुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘जनताको समस्या समाधानका लागि दूरगामी र तत्कालीन आर्थिक योजनासहित आउनेछु। अहिले केही कानुनी कुरामा पनि कमजोरी छन्। तिनमा पनि बहस गर्नेछु।’

आफूले कानुन निर्माणदेखि अन्य काममा भूमिका निभाउने उनको भनाइ छ। ‘संघीय शासनसँग जोडिएका कुरा आउँछन्। मुलत नयाँ राजनीतिक संस्कार आवश्यक रह्यो। त्यसैले युवाहरूको आवश्यकता छ,’ उनले भनिन्, ‘आधारभूत आवश्यकताका विषयमा उठ्ने आवाज र कानुन तथा नीतिबारे अब युवाहरूले सोच्नुपर्छ।’

उनले आफू २ दशकदेखि राजनीतिमा सक्रिय रहेको भन्दै संगठित राजनीतिमा आएको प्रस्ट पारिन्। ‘आफ्नै बलबुताले यहाँसम्म आएको र विद्यार्थी आन्दोलनमा सक्रिय भएको व्यक्ति हुँ । अहिले पनि म बागमती प्रदेशमा रहेको छु,’ उनले भनिन्, ‘सबैको पारिवारिक पृष्ठभूमि हुन्छन्। मेरो पनि छ। तर यसमै जोड्न जरुरी छैन।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ