गोरखा- गोरखा नगरपालिकामा रहेकाे हरमटारी खेलकुद मैदान कार्तिक लागेपछि चर्चामा रहन्छ । कारण हाे- मेला ! राजनीतिक दल देखि विभिन्न संघ संस्थाले आफ्नो व्यापार व्यबसायको प्रचार गर्ने थलोका रूपमा यो मैदान प्रयोगमा ल्याउन थालेपछि जिल्ला खेलकुद विकास समितिले विभिन्न स्रोत साधनको प्रयोग गरि मैदानमा तार जाली लगायो ।
मैदानमा खेलकुद सम्बन्धी कार्यक्रम मात्र गर्ने भन्दै समितिले निर्णय नै ग¥यो । तर, त्यहि निर्णयलाई लत्याउदैं जिल्ला खेलकुद विकास समितिले नेपाल चेम्बर अफ कमर्सलाई खेल मैदानमा पुस ५-१५ गतेसम्म २ लाख भाडा दिने शर्तमा सम्झौता ग¥यो । त्यहि सम्झौताको आडमा चेम्बरले पुस १६ बाट मेलाकाे अनौपचारिक कार्यक्रम आयोजना गरेको छ ।
मेला रोक्न नेपाली कांग्रेसको भातृ संगठन जस्तो बनेको गोरखा उद्योग बाणिज्य संघका प्रदाधिकारी लागेपछि मेला स्थगित भएकाे थियाे । गत पुस १ गते गोरखा आएका गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री दीपक मनाङेको निजि सचिवलायद्वारा एक पत्र जारी गर्दै- ‘नवौं राष्ट्रिय खेलकुद कार्यक्रम निकट भविष्यमा सञ्चालन हुन गईरहेकाले तत्काल कसैलाई प्रयोग गर्न नदिनु’ भन्दै पत्र पठाएपछि चेम्बरको मेला स्थगित भएकाे थियाे ।
मेला स्थगित भएपछि हरमटारी खेलकुद मैदानमा मेला गर्ने भन्दै चेम्बरका टोली लागेपछि कांग्रेसका पूर्व जिल्ला सभापति हरि बहादुर घले र नेकपा (एमाले)का जिल्ला इन्चार्ज रामशरण बस्नेतको ‘एक भेटपछि’ मेला सञ्चालनको चाँजो मिलेकाे हो । बस्नेतले घलेलाई भनेका थिए- ‘तिमिहरूको कारण मेला स्थगित भएको हो । कसरी हुन्छ तिमिहरूले नै मेला सञ्चालन गर्न भूमिका खेल्नु प¥यो । त्यहि मैदानमा मेला गर्न अनुमति पाउनु प¥याे ।’ यहि भेटपछि घलेकाे सक्रियतामा प्रदेश सरकार हुदै केन्द्रमा समेत अनुराेध गरेपछि राष्ट्रिय खेलकुद परिषद्ले पुस ६ गते जिल्ला खेलकुदालाइ मैदान उपलब्ध गराउन निर्देशन दिएपछि मेला गर्न चेम्बरले अनुमति पाएको हो।
मेला पुस १८ गते चेम्बरका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले औपचारिक रूपमा मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । हरमटारी खेलकुद मैदानलाई असर नगर्ने गरी एन्फा र कर्मसको सहमतिमा मेला आयोजना गर्न लागिएको हो। ‘मेलामा कृषि उत्पादनको प्रदर्शनी, घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीको प्रदर्शनी हुनेछ’ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले भने ‘कोरोनाले थलिएको गोरखाको ब्यापार ब्यवशायलाई चलायमान बनाउन मेला गर्न लागेका हौँ ।’
मेलाले गोरखाको होटल ब्यवशाय, अन्य ब्यापार ब्यवशाय, कृषि उत्पादन बिक्री, पर्यटकीय स्थलको प्रचार प्रसार हुनेमा आशाबादी रहेकाे उनले बताए। मेलामा तीन करोड भन्दाबढिको कारोबार हुने अपेक्षा चेम्बरको छ । ‘मेला संचालन गर्न हामीलाई ४३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौँ’ उनले भने ‘चेम्बरका सदस्यबाट २ लाख संकलन गर्ने र टिकट, बाल उद्यान, स्टल बिक्री, प्रायोजकबाट अन्य खर्च जुटाउनेछौँ ।’
मेलामा एक सय ३० वटा स्टल रहने बताइएको छ । ती मध्ये ३० वटा कृषि तथा घरेलु उत्पादनलाई र बाँकी एक सय वटा ब्यापारीक प्रयोजनका लागि छुट्याइएको छ । बाल उद्यानका पिङ, बिभिन्न खेलहरु पनि संचालन हुनेछ । मेला अवधीमा राष्ट्रिय ख्याती प्राप्त कलाकार र स्थानीय कलाकारहरुहरुको प्रस्तुती निरन्तर रहने आयोजकले जनाएको छ ।
याे पनि- हरमटारी खेलकुद मैदान विवाद : मन्त्री मनाङेकाे निर्देशन- तत्काल कसैलाई प्रयाेग गर्न नदिनु
मन्त्री मनाङेसंग बाणिज्य संघकाे त्याे ‘चाैतारी भेट’, अनि स्थगित भयाे चेम्बरको मेला !
प्रतिक्रिया