+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्पको ६ वर्षमा पनि ठडिएन गोरखा दरबार, फेरि पुरानै ठेकेदारलाई ठेक्का

पालिका लाइभ
२०७८ भाद्र २९, मंगलवार

गोरखा– १२ वैशाख ०७२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै ढलेको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माणको काम अझै सकिएको छैन । पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको बहानाबाजी र ढिलासुस्तीका कारण साढे ६ वर्षसम्म पनि दरबारको पुनर्निर्माण सम्पन्न हुन नसकेको हो ।

पुरातात्त्विक विभागले ०७४ कात्तिकमा दुई वर्षभित्रै दरबारको पुनर्निर्माण सिद्ध्याउने भन्दै कुल ४ करोड ३५ लाख रुपैयाँमा पचली सिवाको जेभी कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताअनुसार ०७६ मंसिर मसान्तसम्ममा गोरखा दरबारको पुनर्निर्माण सम्पन्न भई सक्नुपर्ने थियो । तर, विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरिरह्यो । विभागले तीन पटकसम्म म्याद थप गरेको थियो । तर, पटक पटक म्याद थप भए पनि काममा तदारुकता नदेखाएपछि विभागले बाध्य भएर सार्वजनिक खरिद नियम अनुसार ठेक्का रद्द गरेको थियो ।

तोकिएको समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई तीन पटकसम्म म्याद थप गर्दा पनि करिब ८५ प्रतिशत मात्रै पुनर्निर्माण सम्पन्न भएको थियो । पहिलो पटक ठेक्का पाएको पचली सिवाको जेभी कन्स्ट्रक्सन कम्पनीले दरबारको छानो छाउने, बार्दलीहरू राख्नेसम्म मात्रै काम सम्पन्न गरेको थियो ।

दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालका अनुसार दरबारको पेटी निर्माण, रंगमहलमा पेटी, इँटा बिछ्याउन, गाह्रोमा प्लास्टर गर्ने, झ्याल–ढोकामा खापा राख्नेलगायतका भित्री काम बाँकी छ । बाँकी काम सम्पन्न गर्न पुरातत्त्व विभागबाट प्राविधिकसहितको एउटा टोली आएर स्थलगत अध्ययन गरेर लागत स्टिमेट तयार गरी टेन्डर खोलेको थियो ।

तर, बाँकी कामको जिम्मा पनि यसअघि समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले पाएको छ । विभागका लेखा अधिकृत राजन रेग्मीका अनुसार बाँकी काम ७३ लाख ३८ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएकोमा २१ दशमलव ३३ प्रतिशत घटेर ५६ लाख १६ हजार रुपैयाँमा सिवाको-यरिसा-रोयल जेभीले कामको जिम्मा लिएको छ ।

शिवाले यसअघि र अहिले पनि साझेदार ठेकेदार कम्पनी बन्ने मौका पाएको छ । विगतमा समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले अहिले पनि बाँकी निर्माणको काम पाउँदा समयमै काम पूरा हुनेमा आशंसा उत्पन्न भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ