काठमाडौं- चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।
बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । एमाले टोलीमा स्थायी कमिटी सदस्य विष्णु रिमाल र राजन भट्टराई पनि सहभागी छन् ।
एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । चार दिन काठमाडौं रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फातिमा नेतृत्वको टोलीको नेपाल भ्रमण भएको हो ।
हामी हतार गर्दैनौँ, सरकारमा रहेकाले पहिले ‘पोजिसन क्लियर’ गरुन्
अध्यक्ष ओलीले अमेरिकी परियोजना एमसीसीबारे पहिले सत्तारुढ दलहरु प्रष्ट हुनुपर्ने बताएका छन्। एमसीसी उपाध्य सुमारसँग बालकोटमा भएको भेटका क्रममा आफूहरु प्रतिपक्षमा रहेकाले पहिले सत्तारुढ दलहरुले धारणा प्रष्ट पार्नु पर्ने बताएका हुन्।
‘एमसीसीबारे हामीले हतारिएर पोजिसन बनाउँदैनौं। पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’, भेटका क्रममा ओलीको भनाइ उद्धृत गर्दै एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले भने, ‘हिजो हामी सरकार हुँदा एमसीसी पास गर्न प्रयास गरेको कुरा तपाईंहरुलाई थाहै छ। अहिले एमसीसी जसका कारण रोकिएको हो, पहिले उनीहरुले पोजिसन क्लियर गर्नुपर्छ।’
ओलीले एमसीसी सत्तारुढ दलहरुकै कारण रोकिएको पनि बताएका छन्। ‘जस जसका कारण एमसीसी रोकिएको हो। उनीहरु नै अहिले अललमा छन्। उनीहरुले अझैसम्म एमसीसी के गर्ने भन्ने बोलेका छैनन्’, ओलीले बैठकमा भने, ‘सरकार र त्यसमा संलग्न दलहरुले के गर्ने भन्ने पोजिसन बनाएकै छैनन्। उनीहरु पहिले यसबारे निर्णयमा नपुगी हामी प्रतिपक्षले हतार गर्ने अवस्थामा छैनौँ।’
ओलीले एमसीसीबारेमा सत्तारुढ दलहरुले आफूहरुसँग कुनै छलफल र समन्वय पनि नगरेको बताए। ‘एमसीसीबारे सरकारले हामीलाई सोधेको पनि छैन। छलफल पनि नगरेको अवस्था छ’, ओलीले अगाडि भने, ‘यसबारेमा सरकारमा बहुमत भएका दलहरुले क्लियर हुनुपर्यो। उनीहरुसँग बहुमत छ, हामी नहुँदा पनि पास गर्न सक्छन्। त्यसैले यसबारे हामी हतारमा कुनै निर्णय गर्दैनौँ।’
प्रतिक्रिया