गाेरखा– नेपालको प्रसिद्ध धार्मिक गन्तव्य गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आज(बुधबार) देखि खुलेको छ। कोभिड–१९ को संक्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि बन्द रहेको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुला गरिएको हाे।
मनकामना क्षेत्र विकास समितिले सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागि समेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापा मगरले बताए ।
‘बुधबार बिहान नियमितरूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई मन्दिरमा प्रवेश गराइएको छ’, मूलपुजारी थापाले भने, ‘पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ।’
मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उनले बताए। चार महिनापछि मन्दिर खुला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिए। मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका व्यवस्थासमेत गरिएको उनको भनाइ छ।
मन्दिर पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए।
मनकामना केबलकार भने केही दिन अघिदेखि नै सञ्चालनमा आइसकेको छ। यसैबीच कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ।