गाेरखा- प्रविधिको प्रयोगले प्राविधिक जनशक्ति घटाउने तथा नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंनका लागि भन्दै आर्थिक बर्ष २०७६/७७ मा गोरखा नगरपालिकाले १५ लाख रुपैयाँमा ‘पेन्थम फोर आरटिके’ नामक ड्रोन किन्यो।
२०७७ साल असार १७ गते ड्रोनको उडान परीक्षण गर्दै गाेरखा नगरपालिकाका मेयर राजनराज पन्तले नगर क्षेत्रमा हुने कुनै पनि योजनाको सर्भे, नक्साकंन तथा अनुगमन ड्रोनबाटै हुने बताएका थिए । तर, त्यस दिनबाट न त त्याे ड्राेनबाट कुनै सर्भे भयाे, न त कुनै अनुगमन ।
उनले ड्रोन उडाएर सकेलगत्तै उक्त भीडमा भनेका थिए–‘अब हामी अफिसमै बसेर नगरक्षेत्रमा सञ्चालित साना ठूला योजनाको अनुगमन गर्नसक्ने भएका छौं। योजना अघिको सर्भेमा पनि ड्रोनको डाटा प्रयोग गर्न सकिने भयो, यसले म्यानपावरकै काम गर्ने भयो। प्राविधिक जनशक्तिको अभावलाई पनि यसले केही हदसम्म राहत मिल्छ भन्ने विश्वास छ।’
त्यस दिनमा नै नगरपालिकाका सूचना प्रविधि शाखाका इन्जनियर सुयोग रमण खनालले ड्रोन उडाए। तर, योजनाको सर्भे, नक्साकंन तथा अनुगमन गर्ने भन्दै लाखौँ रुपैयाँ खर्चेर किनिएको ड्रोन ०७७ फागुनसम्म नगरपालिकाको काममा एक पटक पनि प्रयोगमा आउन नसकेको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक बर्ष २०७६/७७ काे महालेखा परीक्षकको कार्यालयकाे ५८ औं प्रतिवेदनकाे दफा ५२ मा भनिएकाे छ -‘मानव रहित हवाई उपकरण (ड्रोन) खरिद कार्यमा आवश्यकता र मितव्ययिताको ख्याल नगरी विभिन्न प्रकारका सामान खरिद नगर्ने व्यवस्था सार्वजनिक खर्च मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ मा उल्लेख छ ।
पालिकाले यस वर्ष वोल कवोलबाट रु १४,९५,००० को मानव रहित हवाई उपकरण (ड्रोन) खरिद गरि खर्च लेखेकोमा लेखापरिक्षणको अवधि २०७७ फागुन मसान्त सम्म प्रयोग आएको पाइएन। प्रयोग गर्ने जनशक्ति नभएको मेशिन उपकरण खरिद गरी थन्काउने कार्यले आवश्यकता र मितव्ययिताको ख्याल गरी अनुमान योग्य सामाग्रि खरिद गरेको भन्न सक्ने अवस्था देखिएन ।
खर्चको उपादेयता स्थापित नगरी तथा आवश्यकता, औचित्यता र मितव्ययिताको ख्याल नगरी बजेट उपयोग गर्ने उद्देश्यले मात्र सेवाको आपूर्ति तथा भण्डारण गर्ने कार्यलाई पालिकाले निरुत्साहित गरिनु पर्दछ ।’
ड्राेन खरिद प्रकृयामा नै प्रश्न उठेपछि नगरपालिकाले प्राविधिक भाषामा ‘सफ्टवेयर’ काे आबश्यक भएकाे भन्दै स्टाेरमा थन्किएकाे ड्राेन सञ्चालनमा ल्याउनका लागि ‘सफ्टवेयर’ खरिद गर्ने भएकाे छ ।
कार्यालयका सूचना प्रविधि अधिकृत खनाल सफ्टवेयरका कारण ड्रोन सञ्चालन गर्न नसकिएको बताउँछन् ।
‘फोटो खिचेर ल्याउने, त्यसको जियो लोकेसनलाई एक ठाउँमा राखेर सर्भे मोडलिङको काम गर्ने एउटा सफ्टवेयर हुन्छ, त्यो नभएकाले काम गर्न सकिएको छैन,’ उनले भने । त्याे सञ्चालनमा ल्याउनका लागि सफ्टवेयर खरीद गर्ने तयारी भइरहेको छ।’