काठमाडौं- भूकम्पपछिको पुनर्निमाणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निमाण प्राधिकरणले आफूलाई दिइएको जिम्मेवारी निभाएपश्चात बोझ बिसाउने भएको छ । प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले निर्णय लिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जिम्मेवारी हस्तान्तरण भए पनि प्राधिकरण भंग भने नहुने बताए । ज्ञवालीका अनुसार लेखापरिक्षण लगायतका कामका लागि प्राधिकरणको सानो संरचना अब अस्तित्वमा रहनेछ ।
प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका कामहरु सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय ज्ञवालीले जानकारी दिए । जसअनुसार विपद् व्यवस्थापनसम्बन्धी बाँकी कामहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ ।
अन्य निकायहरुमा शहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संस्था र सरकारी भवनहरुको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालय, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्ने भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेको कामलाई धन्यवाद दिँदै पुनर्निनिर्माणमा बाँकी रहेका कामलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।’
२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पुर्याएका भवनहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो ।
प्रतिक्रिया