काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत नभए माधवकुमार नेपालको साथ छाडेका नेताहरुले विद्रोह गर्ने भएका छन्।
राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी भएपछि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठनको प्रकृया थाल्दा त्यसमा सहभागी नभइ नेता नेपाललाई छोडेका स्थायी कमिटी, केन्द्रीय कमिटी सदस्यहरु र सांसदहरुले बैठक बसेर अन्तिम पटक ओलीलाई १० बुँदे सहमति गराउन प्रयास गर्ने, र त्यसो नभएमा विद्रोह गर्ने भएका हुन्।
एमाले विभाजन र नयाँ पार्टी निर्माण दुबै अतिवादी भएको भन्दै उनीहरु बीचधारमा रहेका थिए। उनीहरुले ओलीलाई सहमत गराउन प्रयास गरेका थिए, तर ओली तयारनै नभएपछि माधव नेपाल छोडेका नेताहरु छलफलमा जुटेका हुन्। बैठकबाट १० बुँदेको अक्षरशः पालना गराउन र फागुन २८ यता भएका सबै निर्णय खारेज गराउन अपील हुने केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । अध्यक्ष ओली त्यसका लागि तयार नभए बिद्रोह हुने उनको भनाइ छ।
उनीहरुले बिहीबार अबेर संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन् । विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह पनि गरिएको छ ।