काठमाडाैं- वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्।
शाक्यको अहिले ८ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको छ । त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो। मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो।
नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेका बेला माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको छ। त्यसको प्रभाव सबैभन्दा पहिले वागमति प्रदेश सरकारमा देखिन लागेको हो। नेपाल पक्षकी एमाले उपाध्यक्ष शाक्य पार्टी विभाजनको विपक्षमा उभिएको बताएपछि उनलाई मुख्यमन्त्री बनाइने भएको हाे।
स्रोतका अनुसार नेतृ शाक्यले एमाले वरिष्ठ नेता नेपालकै परामर्शमा मुख्यमन्त्रीको सपथ लिन लागेकी हुन्। एमालेमा केपीको कट्टर आलोचक मानिने शाक्य निष्ठावान् नेतृ मानिन्छिन्। उनले पार्टीभित्र ओलीको स्वेच्छाचारी कदमको निरन्तर आलोचना गर्दै आएकी छिन्।
पछिल्लो समय सार्वजनिक अभिव्यक्ति दिन छोडेकी शाक्यले मुख्यमन्त्री बन्न सकिने सम्भावनाबारे नेपालसँग पटकपटक छलफल गरेको स्रोत बताउँछ। मुख्यमन्त्री बन्ने सम्भावना भए लचिलो बाटो अपनाउन नेपालले समेत ग्रिन सिग्नल दिएपछि शाक्यले मुख्यमन्त्रीका लागि अग्रसरता देखाएकी हुन्।
कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा पौडेललाई बहुमत छ । बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन् । माधव पक्षको बलियो शक्ति सरकारबाट बाहिरिँदा पौडेलको सत्ता टिक्न सक्ने अवस्था रहँदैन । प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।