काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुने भएको छ । केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय गरेको हो ।
भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए । सभापति शेरवहादुर देउवा निवासमा बसेको बैठकले स्थानीय तहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच विवाद भएको थियो । पार्टी विधान र संविधानअनुसार महाधिवेशन गर्नुपर्ने समय कांग्रेसले गुजारिसकेको छ ।