काठमाडौं- लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गरेका छन् ।
आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोशिश गरेको उनको आरोप छ ।
‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवसरवादको अर्को नाम रहेछ। प्रचण्डलाई आधार बनाएर चुनावी गठबन्धन र पार्टी एकता गरिएको हो’, उनले भने, ‘तर प्रचण्डले जनयुद्धको बेलाको ढाडमा टेकेर टाउकोमा हान्ने नीति छाडेका रहेनछन्। उनले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हान्न खोजे।’
नेता पोखरेलले प्रचण्डमा रहेको अवसरवाद र महत्वाकांक्षाले नेपालको राजनीतिक अस्थिरतामा गएको पनि बताए। ‘प्रचण्डकै कारण आज देश अस्थिरतामा गएको छ’, उनले भने, ‘शेरबहादुर देउवाजी प्रचण्डको कुण्ठाको मोहोरा बने।’
उनले नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको पनि दाबी गरे। ‘नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको छ’, उनले थपे, ‘एउटा ध्रुवमा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोतर्फ छ। जसले जनताको भर गरेर अघि बढ्छ। अर्को मोर्चा, जोसँग न सिद्धानन्त न बिचार छ न नीति छ। छ त कुण्ठा र अवसरवाद अनि प्रतिशोधको भावना।’
उनले त्यही प्रतिशोधको भावना भएको झुण्ड अहिले सरकारमा रहेको भन्दै कटाक्ष गरे। ‘राष्ट्रिय स्वाधीनता र विकासको बाटो हिँड्ने की जनताले देखाएको बाटो हिँड्ने या अध्यादेश र परमाशेदको बाटो हिँड्ने?’, उनले सोधै, ‘मुलुकलाई अस्थिरताको बाटो लैजान हिँड्दा समस्या हुन्छ। स्वार्थहरुको योजना अनुसार मुलुक अगाडि बढ्न सक्दैन।’
उनले देउवा नेतृत्वको सरकारलाई परमादेशबाट बनेको संज्ञा दिए। ‘परमादेशबाट जन्मिएको सरकार संसदीय लोकतन्त्रको अपमान हो’, उनले भने, ‘स्वार्थी राजनीतिका कारण हामीले अहिले नेतृत्व गुमाएका छौँ। प्राविधिक रुपमा नेतृत्व गुमे पनि जनताको मन आस्था र विश्वासमा त्यो नेतृत्व कायम गरिसकेका छौँ। हामीले जे पूर्वाधार बनाएका छौँ, त्यसालई कसैले भत्काउन सक्दैन।’