काठमाडौं- नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव पेश भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो । केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।
शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।
यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय समितिको बैठकमा प्रचण्डले नै विधान संशोधनको प्रस्ताव पनि पेश गरेका छन् र दुबै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ ।
समूहगत रुपमा भोलि विहानसम्म छलफल हुने र निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।बैठकमा अध्यक्ष प्रचण्डले जातीय/क्षेत्रीय मोर्चाहरूलाई पुँजीवादी जनवादी क्रान्तिका साधनहरूको रुपमा चित्रित गरेका छन् ।
केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा जातीय/क्षेत्रीय मोर्चाको कामलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गरिएको हो ।
‘सांगठनिक अजेन्डा प्रस्तुत गरिएको छ। त्यसमा मुख्यतः अहिले हाम्रो कार्यविभाजन हुनेछ। प्रदेशको विभागहरुको र आवश्यक कार्यविभाजनहरु गर्नेछौं’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने। बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरेका छन्। जहाँ पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको श्रेष्ठले बताए। प्रचण्डको प्रस्तावमा प्रतिगमनप्रति अझै पनि सचेत हुनुपर्ने बताइएको श्रेष्ठको भनाइ छ।
‘प्रतिगमनको खतरा कायम रहँदासम्म वाम लोकतान्त्रिक सहकार्य गर्नुपर्छ। अब हामीले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी पुनर्गठन गरेर हामीले सबै शक्तिहरुलाई एकताबद्ध गरेर सामाजिक आर्थिक रुपान्तरणको काम अगाडि बढाउन ध्यान केन्द्रित गर्नुपर्छ। त्यसको निम्ति सबैभन्दा पहिलो आवश्यकता हाम्रो पार्टीको व्यवस्थित ढंगले सुदृढ गर्नु हो। क्रान्तिकारिकरण गर्नु हो। त्यसो भयो भने हामी वामलोकतान्त्रिक सहकार्य, वामपन्थीहरुको संयुक्त मोर्चा र क्रान्तिकारी एकीरकण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउन सक्छौं भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ’, उनले भने।