काठमाडाैं- लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम सरकारमा माग दाबी गर्न गरेको आह्वानमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले चार दलको समर्थनमा मागदाबी गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले दिएको समय अवधिसम्म केसीको मात्र मागदाबी परेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा केसीलाई नियुक्त गरेका गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले बताए ।
को हुन् केसी ?
मुख्यमन्त्री केसीको रोल्पा लिवाङ घर हो । २०२७ सालमा जन्मिएका केसीले २०४६ सालमा नेकपा मसालबाट राजनीति शुरु गरेका हुन् । उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । एसएलसी दिएपछि उच्च्च शिक्षाका लागि दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आईए भर्ना भएका केसी त्यहीँ पढ्दा विद्यार्थी संगठनबाट राजनीति गर्न थालेका थिए ।
तीन वर्षसम्म पोखरेलपछिको दोस्रो वरीयतामा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय चलाएका केसी माओवादी केन्द्रका संसदीय दलका नेता पनि हुन् । केसी शिक्षक हुँदै तत्कालीन माओवादी सेनाको कम्पनी कमिसार पनि भएका थिए ।
उनी शिक्षक भएर पनि दुई वर्ष अध्यापनसमेत गरे । ०४८ सालदेखि २०५० सालसम्म रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी शिक्षक भएका उनी ०५० सालमा सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको भन्दै शिक्षकबाट अवकाश लिनुपरेको थियो । त्यसपछि उनी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति सुरु गरेका थिए । पछि २०५२ मा माओवादीको उदय भएपछि उनी माओवादीको भूमिगत राजनीतिमा सक्रिय भए ।
विस. २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको जिम्मेवारी पाएका थिए । त्यसपछि २०५६ साल भेरी–कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी विस. २०६० साल जेठ २० गते पार्टी बैठकका लागि भारत जाने क्रममा भारतको पटनामा पक्राउ परे । पछि माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ साउनमा मात्रै केसी जेलमुक्त भएका थिए ।
माओवादीको फुटपछि मोहन वैद्यतिर लागेका केसी २०७३ सालमा रामबहादुर थापा बादलसँगै माओवादी केन्द्रमा फर्केका थिए । उनी २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा रोल्पा १ क बाट माओवादी-एमाले गठबन्धनको तर्फबाट चुनाब जितेका थिए ।