काठमाडाैं- लुम्बिनी प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाउँदैछ। नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुँदैछन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम सरकारमा दाबी गरेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।
केसीलाई सरकार बनाउन चार दलको समर्थन छ। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले बुधबार २४ घण्टाको समय दिएका थिए।
त्यही अनुसार ४१ सांसदसहित केसी मुख्यमन्त्री हुन लागेका हुन्। केसीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको साथ छ। मुख्यमन्त्री बन्न लागेका केसी रोल्पा क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भएका हुन्।
केसीको मन्त्रिमण्डलमा माओवादीबाट कृष्ण ध्वज खड्का र विमला वली जाने सम्भावना छ। त्यस्तै कांग्रेसबाट डिल्ली चौधरीको नाम चर्चामा छ। जनता समाजवादी पार्टीबाट सहसराम यादव सरकारमा जाने भएका छन्।