काठमाडाैं– देशभर लकडाउन चलिरहेका बेला गोरखामा भने केही व्यक्तिहरूको ‘अमुक स्वार्थ’मा परी जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन निर्माण कार्य गर्ने भन्दै बाहिरी जिल्लाबाट कामदार गोरखा भित्र्याए । उनीहरूलाई गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम प्रसाद अधिकारीले जिल्ला भित्र्याएका हुन् ।
लकडाउनको समयमा जिल्लाका सबै नाकामा सिल गरिएको समयमा समेत जिल्ला प्रहरी कार्यालयमा भने निरन्तर निर्माण कार्य भयो । प्रहरी कार्यालय निर्माण हुन त सुखद कुरा हो । तर, जिल्ला नै सिल भएको अवस्थामा चाहिँ किन बनाउनु पर्याे प्रहरी भवन !
प्रहरी कार्यालय बनाउन कैलालीबाट मजदुर
नयाँ भवन बनाउन एसपी अधिकारीको नेतृत्वमा कैलालीबाट २९ जना मजदुर गोरखा भित्र्याए । उनीहरू गोरखा ल्याएपछि सबैको कोरोना जाँचका रूपमा आरडिटि चेक गरियो । तर, सबैको रिर्पाेट नेगेटिभ आयो । २९ जना मध्ये ४ जनाको पिसिआर प्रविधिबाट समेत कोरोना जाँच गरियो । उनीहरूमा समेत रिर्पाेट नेगेटिभ आयो । तर, अहिले कसरी जिल्ला प्रहरीको नियन्त्रणमा रहेका युवा कोरोना संक्रमण भयो त एसपी साप !
प्रहरी कार्यालय बनाउन बाेर्लाङबाट काठ तस्करी
भीमसेन थापा गाउँपालिका बोर्लाङबाट अवैध काठका परिमाण सहित ४ जनालाई नियन्त्रणमा लियो । जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि भन्दै सदरमुकाम गोरखातर्फ ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई डिभिजन बन कार्यालय गोरखाले नियन्त्रणमा लिइएको हो ।
प्रहरी कार्यालयको भवन निर्माणका लागि काठ ल्याइएको खुल्न आएपछि भवन निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सन प्रालिका हरि विष्टलाई पनि पक्राउ गरिएको छ ।
बालगृहमा रहेका थुनुवामा ‘कोरोना संक्रमण’
जिल्ला प्रहरी कार्यालयको हिरासतभित्रै एक किशोरमा कोरोना संक्रमित भेटिए । पालुङ्टार नगरपालिका वडा नं. ७ बुढीकुवाका १७ वर्षीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा ज्येष्ठ ११ गते थुनामा परेका थिए ।
उनी जीवन ज्योति मावि च्याङ्लीमा कक्षा नौमा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ । उनलाई बाल सुधार गृहमा राख्न जिल्ला अदालत गोरखाले आदेश दियो । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले उनलाई बाल सुधार गृहमा पठाउन आदेश दियो ।
सुधार गृहमा उनीसहित हाल दुई जना थुनुवा रहेका छन् ।
पालुङटारकाे क्वारेनटाइन रहेकामा युवामा कोरोना पुष्टि नहुँदै समुदायमा रहेका उनी कसरी संक्रमित भए भन्ने बारे चौतर्फी प्रश्न गरिएको छ । उनलाई गोरखा अस्पतालको आइसोलेसनमा पठाइएको छ । उनी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा भएको समयमा कसरी कोरोना पुष्टि भयो एसपी साप ! अब ती युवामा कोरोना संक्रमण भएपछि जिल्लाको अवस्था के होला ?
विवादित अर्सइलाई एसपीको साथ
विवादित गण्डकी गाउँपालिकास्थित घ्याल्चोक प्रहरी चौकीका प्रमुख असई मदन आर्चायलाई हप्ता असुलीमा परेपछि उनलाई ‘सेल्फ ल्याडिङ’का रूपमा एसपी अधिकारीले जिल्ला सदरमुकाममा घुमुवाको जिम्मेवारी दिए ।
सिउरेनीटारस्थित प्रहरी चौकीका असई आचार्यले सञ्चालन गरेको गतिविधि र उनले नागरिकसँग गर्ने व्यवहारले आम नागरिकमा प्रहरी संगठनप्रति अविश्वास पैदा गरेको छ । अपराध नियन्त्रणको कर्तव्य पालना बापत नेपाल सरकारको तलब खाने प्रहरी असई आचार्यले गैरकानुनी काम गर्नेहरूबाट पैसा असुलीको धन्दा बनाएका छन् ।
असई आचार्यले आफ्नो इलाका भित्र पर्ने त्रिशूली नदीको किनारामा अवैध रूपमा सञ्चालन भइरहेको बालुवा खानीबाट पैसा असुल्ने गरेको एक स्थानीयवासीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
प्रतिक्रिया