काठमाडाैं- नेपाली सेनाले हेलिकप्टरबाट कोरोना भाइरसको औषधि छर्किने भनेर भाइरल भइरहेको अडियो भ्रामक भएको सेनाले जनाएको छ ।
सेनाले हेलिकप्टरबाट काठमाडौंमा कुनै पनि औषधि छर्किने कुनै योजना नबनाएको जनाइएको छ ।
सेनाले काठमाडौंको आकाशमा हेलिकप्टरबाट कोरोनाको औषधि छर्किंदैछ भनेर युवतीको आवाजमा रहेको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कतिपय व्यक्तिले अडियो सन्देश सही हो कि होइन भनेर जिज्ञासा राखिरहेका बेला सेनाले अडियो गलत भएको स्पष्ट पारेको छ ।
‘सामाजिक सञ्जालमा आएको जस्तो आकाशबाट कुनै पनि औषधि अथवा अन्य कुनै कुरा पनि छर्किन लागेका छैनौं,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले लोकान्तरसँग भने ।
आकाशबाट औषधि छर्किएर कोरोना भाइरस नियन्त्रण हुने कुनै विधि पत्ता नलागेको अवस्थामा अडियोमा भनिएको जस्तो गतिविधि नहुने सेनाले स्पष्ट पारेको छ ।
सेनासँग जोडेर अनाधिकृत रुपमा उत्पादन र सम्प्रेषण हुने अडियो र भिडियोलाई विश्वास नगर्न समेत सेनाले आग्रह गरेको छ ।
प्रतिक्रिया