गोरखा- गोरखा र आसपासका विद्यार्थीले अब प्राविधिक शिक्षाका लागि देशका विभिन्न ठाउँमा भौतारिनु नपर्ने भएको छ ।
व्यवसायिक सिप तथा तालिम परिषद् सिटिइभिटीले पालुङ्टारमा नमूना प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने भएसँगै अब उक्त समस्या हट्ने भएको हो ।
‘सरकारले देशका हरेक प्रदेशमा एक-एक वटा नमूना प्राविधिक शिक्षालय खोल्ने निर्णय गरेको छ’ सिटिइभिटीका उपाध्यक्ष डा.कुलबहादुर बस्नेतले भने ‘सोही अनुरुप गण्डकी प्रदेश अन्र्तगत गोरखा पोलिटेक्निक इस्टिचियुट पालुङ्टार छनौटमा परेको छ ।’ सरकारले केही दिन अघि उक्त निर्णय गरेको हो ।
उक्त शिक्षालय सञ्चालनमा आएपछि हरेक शैक्षिक सत्रमा ५ हजार भन्दा बढि प्रशिक्षार्थीहरुले पालुङटारमा पढ्न पाउने छन् । त्यहाँ ४० भन्दा धेरै विषयमा सिप परिक्षण गर्न सकिने बताइएको छ ।
‘सिटिइभिटीले अहिले सम्म ४० भन्दा बढि विषयको पाठ्यक्रम तयार गरेको छ’ उनले भने ‘ती सबैको पढाई एवं सिप परिक्षण अब यहीँ हुन्छ ।’ उक्त शिक्षालयमा व्यवसायिक सिप तथा तालिम परिष्दबाट स्वीकृत भइ देशभर पढाई भइरहेका सम्पूर्ण विषयको अध्यापन हुने बताइएको छ ।
अहिले सम्म यहाँ १५ करोड भन्दा बढिको पूर्वाधार बनि सकेको छ । निर्माण सम्पन्न भई सक्दा ठुलो रकम खर्च लाग्ने डा. बस्नेतको भनाई छ । ‘यसलाई सञ्चालन गर्न अरबौं रकम लाग्छ, अहिले हचुवाको भर भन्न सकिदैन’ उनले भने ‘पूर्वाधार बिकास देखि हामीलाई ठुलो परिमाण जग्गा खरिद गर्नुपर्ने हुन्छ ।’
उक्त प्रकृतिको शिक्षा प्रयोगात्मक हुने हुँदा भौतिक संरचना सँगै अन्य बिकास निर्माणका कामलाई पनि सँगसँगै अगाडी बढाउनु पर्ने उनले बताए । जसका लागि राज्य र निजि क्षेत्रको दुबैले लगानी गर्नुपर्ने देखिएको छ ।
‘प्रयोगात्मक कक्षाका लागि कहाँ-कहाँ उद्योगहरु सञ्चालनमा ल्याउन सकिन्छ त्यो पनि तयार गर्नुपर्छ’ उनले भने ‘यो पुर्णतय स्वरोजगारमुलक शिक्षा हो । कार्य स्थलमै गएर सिकाइने भएको त्यो क्षेत्रका व्यवसायी साथीहरुलाई पनि सँगै लिएर अघि बढ्ने हाम्रो योजना छ ।’
उक्त शिक्षालय सञ्चालनमा आएपछि यो क्षेत्रका विद्यार्थीले प्राविधिक शिक्षा पढ्नका लागि अयन्त्र जानु पर्ने बाध्यता हट्नुका साथै आर्थिक तथा सामाजिक बिकासमा पनि ठुलो मद्दत पुग्ने देखिएको छ ।
त्यसबाट अबको ५ वर्षमा गोरखा र आसपासका जनताले ठुलो लाभ लिन सक्ने डा.बस्नेतले बताए । ‘अब कुनै पनि अभिभावकले प्राविधिक शिक्षाका लागि छोराछोरी अयन्त्र पठाउनु परेन, नजिकै पढाउन पाउने हुनुभयो’ उनले भने ‘प्राविधिक शिक्षालयसँगै ठुला प्रोडक्सन युनिट जोडिएर आउँछन् ।
जसले गर्दा उद्योगिकरणको बिकास हुन्छ ।’ आद्योगिक विकासले यहाँका धेरै नागरिकलाई रोजगारीको अबसर सिर्जना गर्नुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने विज्ञहरु बताउँछन् ।
सोही अनुरुप कृषि तथा पशुपालनका क्षेत्रमा पनि आमुल परिवर्तन आउने छ ‘नागरिकले प्रत्यक्ष रुपमा त्यहाँ उत्पादित सामान एवं सेवा उपभोग गर्न पाउनेछन’ डाक्टर बस्नेतले भने ‘अप्रत्यक्ष रुपमा ७/८ हजार विद्यार्थीले आएर बस्दा त्यहाँको व्यापार व्यवसाय आवास सबै क्षेत्र चलायमान हुन्छ ।’
सैद्धान्तिक शिक्षाले देशको बिकास हुन नसकेको चर्चा भइरहेका बेला सरकारले अहिले प्राविधिक शिक्षालाई विशेष जोड दिएको छ । सोही अनुरुप ठाउँठाउँमा प्राविधिक शिक्षालयहरु खुलेका छन् ।
श्रम बजारमा प्राविधिक जनशक्तिको माग बढि भएकाले यस तर्फ आकर्षण पनि धेरै छ । तर प्रयाप्त प्राविधिक शिक्षालय नहुँदा यहाँका विद्यार्थीले टाढा टाढा गएर पढ्नु पर्ने अवस्था छ । अहिले गोरखा र आसपासका धेरै विद्यार्थीहरु, जिरी, लाहान, चितवन, सिन्धुली लगायत देशका विभिन्न प्राविधिक शिक्षालयहरुमा पढिरहेका छन् ।
प्रतिक्रिया