गोरखा– बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीस्थित अमले क्षेत्रमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कर्ण इन्टरप्राइजेज (टीभीएस बाइक शोरुम, हरमटारी) र आमा बा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ३२६ जना स्थानीयवासीले निःशुल्क दन्त परीक्षण सेवा लिएका छन्।
आमा बा अस्पतालका प्रशासन प्रमुख रबिन बलामीका अनुसार परीक्षण गराएकामध्ये अधिकांशको दाँत किराले खाएको (दन्त क्षय) समस्या देखिएको थियो।
बागेश्वरी आधारभूत विद्यालय, पाँचखुवा देउरालीको प्राङ्गणमा आयोजित शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षणका साथै आवश्यकताअनुसार दाँत निकाल्ने तथा दाँतमा सिमेन्ट भर्ने सेवा पनि प्रदान गरिएको थियो।
सदरमुकामबाट टाढा रहेका ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएकाले स्थानीयवासी खुसी भएका छन्।
यसअघि पनि कर्ण इन्टरप्राइजेजका प्रमुख कर्णबहादुर गुरुङले बागेश्वरी आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क टाइ र बेल्ट वितरण गरेका थिए।
गुरुङले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक गतिविधिमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया