+
Search

ताजा अपडेट +

पपुलर +

कागवेनी मन्दिरको प्रवद्र्धन गर्ने उदेश्यले भुसुन्डेमा ‘कागवेनी मेला’ सुरू, गण्डकी प्रदेशका सांसदले गरे उद्घाटन

पालिका लाइभ
२०७५ माघ ३, बिहीबार

गोरखा- सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाको संगम स्थल भुसुन्डे खोलामा रहेको कागवेनी मन्दिरको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारबाट पहिलो कागवेनी मेला सुरु भएको छ ।

भुसुन्डेमा रहेको पवित्र धार्मिक स्थल कागबेनीको प्रवर्द्धन गर्न स्थानीयको पहलमा मेला सुरु भएको हो ।

प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले नेपाल कला संस्कृतिमा धनी रहेकाले त्यसको प्रवर्द्धन गर्न सके मात्र देश समृद्ध बन्ने बताए । स्थानीय स्तरमा हुने राजनैतिक खिचातानीले विकास निर्माणको काम प्रभावित हुने गरेको भन्दै उनले विकासका काममा अनावश्यक राजनैतिक नगर्न आग्रह आग्रह समेत गरेका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य हरिशरण आर्चायले विकास र समृद्धि अहिलेको मुख्य एजेन्डा भएको भन्दै सोही अनुरूप गण्डकी प्रदेश सभाले नीति तथा कार्यक्रम निर्माण गरेका बताएका छन् । नेपाल धर्म स्वतन्त्र मूलक भएकाले सबै धर्म र संस्कृतकीको रक्षा गर्नु सरकारको दायित्व उनको जोड छ । दुवै सांसदले कागबेनीको विकासका लागि आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पालुंटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा पालुंटार नगरपालिकाका प्रमुख इन्जिनियर दीपकबाबु कँडेलले दुई स्थानीय विचको सम्बन्ध सुमधुर बनाउन कागबेनीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उक्त मन्दिर संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ धार्मिक एवं ऐतिहासिक स्थलहरूको प्रवर्द्धन गर्नु आफ्नो नीति रहेको भन्दै कागबेनीको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक समन्वय गर्ने बताए ।

सिरानचोक गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष दीपक हमालको अध्यक्षतामा भएको कार्यक्रम स्थानीय राजन पौडेलले मन्दिर निर्माणको लागि आफ्ना स्वर्गीय पिता कृष्णप्रसाद पौडेलको स्मृति ४ लाख भन्दा बढी मूल्य पर्ने एक रोपनी जग्गा दान ग्रेका थिए ।

२०३३ सालमा स्थानीय पदमबहादुर गोतामे र इमानसिंह लामाको पहलमा निर्माण भएको मन्दिर भूकम्पले भत्किएपछि जीर्ण अवस्थामा छ । मन्दिर पुनर्निर्माणका लागि स्थानीयहरूले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार मात्र ५० हजार भन्दा बढी रकम संकलन भएको सिरानचोक ४ का अध्यक्ष हमालले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकार दिपसागर थापा र सुनिला गुरुङको साथमा स्थानीय कलाकार, भजन समूह, पञ्चेबाजा लगायतको समेत प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ