पोखरा- गण्डकी प्रदेश सरकारले माघे सक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तमुहरुको पर्व (१५ पुस/ह्लोसार) को अवसरमा बिदा दिएको प्रदेश सरकारले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा पनि बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ १ मा गण्डकी प्रदेशभरी सार्वजनि बिदा निर्णय गरेको सरकारबा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । ‘माघे सक्रान्ति हिन्दु धर्मालम्बी तथा मगरहरुको विशेष पर्व हो,’ प्रवक्ता बस्नेतले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिदा दिन गरिएको प्रस्तावलाई पास गर्ने निर्णय भयो ।’
प्रदेश सरकारले वर्षको ६ दिन बिदा दिन पाउने व्यवस्थाअनुसार बिदा दिन लागिएको यो दोस्रो पटक हो । सरकारले त्यस्ता विशेष अवसरमा बिदा दिँदै जाने प्रवक्ता बस्नेतको भनाइ छ । गण्डकी प्रदेशमै जन्मेर पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन २७ गते भने बिदा दिइएको छैन । ल्होसारका अवसरमा पुस १५ मा दिएको प्रदेशको बिदालाई संघ अन्तर्गतका कार्यालयले भने मानेका थिएनन् ।
प्रदेश सरकारले बिदा दिए पनि संघ अन्तर्गतका कार्यालयमा बिदा हुन केन्द्रको गृह मन्त्रालयको स्विकृति चाहिने भन्दै पुस १५ मा संघ अन्तर्गतका कार्यालय खुलेका थिए ।