काठमाडाैं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिए । सरकारको कामको निगरानी गर्न भन्दै कांग्रेसले सरकारमा अनुभव लिइसकेका नेतालाई छायाँ सरकारको मन्त्रालयको जिम्मेवारी दिने भएको हो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले एक साता भित्रै छायाँ सरकार बनाउने बताए । ‘एक साता भित्रै छायाँ सरकार गठन हुन्छ, अब सरकारका प्रत्येक कामको निगरानी छायाँ सरकारबाटै हुन्छ,’ खाँडले भने । सांसद गगन थापाले तीन मन्त्रालय एक मन्त्री हुनेगरी छायाँ सरकार बनाइने बताए । उनले पहिले अनुभव लिइसकेका मन्त्रीहरु सम्वन्धित मन्त्रालयम रहने जानकारी दिए । यस्तै ती मन्त्रीहरु मध्येबाट नै छायाँ सरकारको संयोजक बनाइने समेत जनाए ।
कांग्रेसले मंगलबार नै सुचना निकालेर छायाँ सरकारमा रहने मन्त्रीहरुको लागि नाम माग्ने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार तीन दिनको समय दिएर छायाँ सरकारमा रहने सांसदहरुको नाम माग्ने र प्राप्त नामहरुबाट मन्त्री तोकेर छायाँ सरकारको जिम्मेवारी दिइने छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दलको बैठक समेत बसेको थियो । बैठकले संसदमा प्रधानमन्त्रीले सांसदहरुले राखेको प्रश्नको जवाफ नदिएर संसदीय अभ्यासको उल्लंघन गरेको प्रति समेत आपत्ति जनाएको छ । यस्तै बुधबारको बैठकमा समेत प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ नदिए संसदमा आइतबारको जस्तै अवरोध हुने कांग्रेसले चेतावनी दिएको छ ।
अघिल्लो साता शंखमूलको एक पार्टी प्यालेसमा कांग्रेस पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवातिर हेर्दै सभापतिको छायाँ सरकारले काम गर्न नसकेको बताएका थिए ।पौडेलले भने, ‘प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको छ । अब हाम्रो सभापतिजीले संसदीय दलमा छायाँ सरकार बनाएको, त्यो सरकारले काम गर्न सकेन ।’