गोरखा- धार्चे गाउँपालिकामा १८.५० मेगावाट क्षमताको माछीखोला जलविद्युत आयोजना बन्ने भएको छ । वाटर इनर्र्जी डेभलपमेन्ट प्रालिले माछीखोलाको पानीबाट बजार नजिकै विद्युत गृह रहने गरी आयोजना निर्माण गर्ने भएको हो ।
गुम्दाको मङ्लुङ खोला र माछी खोलाको दोभानभन्दा करिब ७५ मिटर तल माछाखोलामा बाँध बाधी प्रतिसेकेण्ड खोलाको ३.४ घनमिटर पानीलाई करीब पाँचहजार तीनसय १८ मिटर लामो सुरुङ तथा नौसय ५० मिटर पाईपबाट लगेर विद्यु तगृह निर्माण गर्ने लक्ष्य लिइएको प्रालिले जनाएको छ ।
त्यहाँबाट निस्कने पानीलाई २४ मिटर लामो टेलरेस नहरबाट फेरि माछाखोलामा नै खसालेर उत्पादित बिजुलीलाई १३२ केभी क्षमताको प्रसारण लाईनद्वारा बोराङ÷झार्लाङ सवस्टेशनमा जोड्ने लक्ष्य रहेको सँस्थाका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
‘नेपाल विद्युत प्राधिकरणले गुम्दामा नै सवस्टेशन निर्माण गर्ने तयारी पनि गरेको छ’ उनले भने ‘त्यहाँ सवस्टेश बनेपछि त्यहींको सबस्टेशनमा पनि जोड्न सकिन्छ । हामी प्राधिकरण र विद्युत विकास विभागसँग समन्वय गरेर काम गर्नेछौ ।’ आयोजनाका लागि हाल प्रारम्भिक वातावरणीय परीक्षणको क्रम चलिरहेको सँस्थाका कार्यकारी निर्देशक आचार्यले बताए ।
आयोजनाबाट धार्चे गाउँपालिकाको वडा नं ३ को साबिक उहिया, वडा नं. ५ को साबिक गुम्दा गाविस र वडा नं. ७ को साबिक लापु गाविसका बासिन्दा लाभान्वित हुनेछन् । आयोजना निर्माण गर्दा वातावरण र स्थानिय बासिन्दामा पर्न सक्ने प्रभावका बिषयमा सार्वजनिक सुचना जारी गर्दै राय सुझाव माग गरिएको उनले जानकारी दिए ।
सम्पुर्ण अध्ययन पूरा गरी एक बर्ष्भित्रै निर्माणको काम सुरु गर्ने सँस्थाले जनाएको छ । आयोजना का लागि तीन अरब २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एक मेगावाट बिजुली उत्पादन का लागि १९ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनले देखाएको आचार्यले बताए । आयोजना निर्माणका लागि सँस्थाले ५१ प्रतिशत खर्च ब्यहोर्नेछ । स्थानीय बासिन्दाका लागि ४९ प्रतिशत शेयरको ब्यबस्था गरिने उनले जानकारी दिए ।
‘सँस्था र स्थानीयको लगानीमा आयोजना बनाउनेछौं’ उनले भने ‘सबै प्रक्रिया पूरा गरी स्थानीय बासिन्दाका लागि ४९ प्रतिशत शेयर खुल्ला गर्नेछौँ ।’ स्थानीय बासिन्दाका लागि रोजगार तथा आबश्यकता अनुसारका विकास निर्माणका काम पनि गर्ने आयोजनाले जनाएको छ । तर कम्पनीलाई गाउँपालिकाले अहिलेसम्म सहमति दिएको छैन । कम्पनीको पृष्ठभूमि, उसको अनुभव तथा अन्य विषयमा अध्ययन गर्न बाँकी रहेकाले अनुमति नदिइ सकेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।
‘झोलामा खोला हालेर हिड्नेहरु धेरै हुन्छन् । तुरुन्त विश्वास गरिहाल्ने अबस्था छैन’, अध्यक्ष गुरुङले भने, ‘हामीले उनीहरुको बारेमा धेरैै बुझ्न बाँकी नै छ । उपयुक्त लाग्यो भने सहमति दिनेछौं ।’
धार्चे गाउँपालिकालाई लोडसेडिङ मुक्त गाउँपालिका बनाउने लक्ष्य रहेको भन्दै अध्यक्ष गुरुङले पिपिपि मोडलको रेमिट हाइड्रोको रुपमा एक करोड आन्तरिक ऋण लिएर सम्भाव्यता अध्ययन गर्ने भनेर गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।
‘धार्चे्भित्रका आठवटा खोलाबाट विद्युत उत्पादन गर्न सकिन्छ तर विद्युत विकास बिभागसंग बुझ्न जाँदा सबै खोला दर्ता भइसकेका रहेछन् । कुनै पनि खोला बाँकी रहेनछन्’, उनले भने, ‘त्यसैले म झोलामा खोला बोकेर हिड्नेहरुसंग त्यति आशावादी छैन ।’ विश्वास दिलाउन सकेमा सहमति दिने उनले बताए ।
अनुपमा खनाल/दरौँदी दैनिकबाट