गाेरखा– भूकम्प प्रभावितलाई सहुलियत ब्याजदरको ऋण दिन थालिएको छ । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक-सुलिकाेट गाउँपालिका वडा न १ बाट सहुलियत ब्याजदरको ऋण दिन सुरु गरिएको हो ।
बारपाक सुलिकोट गाउँपालिकाका पाँचजना भूकम्प प्रभावितले पाँच प्रतिशत ब्याजदरमा ऋण पाएका हुन् । सरकारले हालै जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अन्तर्गत तीनजना भूकम्प प्रभावितलाई ५ प्रतिशत ब्याजदरमा घर कर्जा वितरण गरिएको हो ।
घर कर्जा लिनेमा बारपाकका जीतबहादुर सुनार, सन्तबहादुर गुरुङ र सन्तबहादुर गुरुङ पाण्डे रहेका छन् । त्यस्तै परी घले र गगनसिंह सुनारलाई महिला उद्यमी ऋण प्रदान गरिएको हो ।
२०७२ सालको भूकम्पको केन्द्रबिन्दु बारपाकबाट भूकम्प प्रभावितलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्पपिडित कर्जा प्रवाह गर्न सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । एकीकृत सहुलियतपूर्ण कर्जा कार्यविधिमा भूकम्प प्रभावितले सहुलियत ब्याजदरमा तीन लाख रुपैयाँ ऋण लिन सक्ने उल्लेख छ ।
यो व्यवस्था अनुसार ऋण प्रवाह गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अघिल्लो महिना नै निर्देशन जारी गरिसकेको छ । भूकम्प प्रभावित ३२ जिल्लाका अहिलेसम्म पनि घर बनाउन नसकेका भूकम्प प्रभावितले घर कर्जाको सुविधा लिन सक्नेछन् ।