काठमाडौँ– प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले हाल राष्ट्रिय एवं क्षेत्रीय सुरक्षा चुनौतीबाट कुनै खतरा नदेखिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रतिवेदन प्रस्तृत गर्नेक्रममा प्रधानमन्त्रीले यस्ताे बताएका हुन् ।
मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहको निर्वाचन भई कार्यान्वयनमा आएको अवधिका विषयवस्तु प्रतिवेदनमा समेटिएको उल्लेख गर्दै प्रधामन्त्रीले भने, ‘परिषद्को निर्णयबाट परिचालन भएको नेपाली सेनाबाट निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचन ठूलो योगदान पुगेको छ ।’
प्रतिवेदनमा अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका आतङ्कवाद, जलवायु परिवर्तनको असर, क्षेत्रीयलगायत आन्तरिक सुरक्षा चुनौती, विखण्डनकारी एवं सशस्त्र समूहका आपराधिक गतिविधि, शरणार्थी समस्या तथा क्षेत्रीय मुलुककबीचको आपसी सहकार्य समेतका विषयवस्तुका गहन विश्लेषण गरिएको छ ।
सो अवसरमा परिषद्का सदस्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा र परिषद्का सदस्य सचिव एवं रक्षा सचिव विष्णुप्रसाद लम्साल उपस्थित रहेका थिए । ।