+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट प्रिमियर लिग : भैरहवाको लगातार दोस्रो जित

पालिका लाइभ
२०७५ मंसिर २६, बुधबार ०१:०४ गते

काठमाडाैं – भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।

जितसँगै भैरहवाले चार अङ्क जोडेको छ । भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो । चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलिप नाथले १२ रन जोडे । शाहब आलमले नटआउट १६ रन बनाए ।

बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले दुई–दुई, रायन टेन डेसचाटे र अभिनाश बोहराले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९।३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो । भैरहवाका लागि राएन टेन डेसकाटेले ३५, प्रदिप ऐरीले २६, रवीइन्दर सिंहले २५, आरिफ शेख र पुनित मेहराले १२–१२ रन जोडेका थिए ।

चितवनका सागर ढकालले तीन र जर्ज स्कटले दुई विकेट लिएका थिए । जारी प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो । बुधबार पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग र काठमाण्डु किंग्स ११ ले ललितपुर प्याट्रियसबीच खेल हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics