काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि संघीय संसद् अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री डा युवराज खतिवडाको जवाफ माग गरेको छ। जवाफमा मन्त्री खतिवडाले ‘होल्ड’ गर्न सक्ने क्षमता लियर मात्र सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन्।
‘१५ दिनको ‘ओभर ड्राफ्ट’ लिएर सेयरमा लगानी गर्यो। बैंकको ब्याजदर बढ्छ, सेयरको मूल्य बढ्दैन। यसले समस्या निम्त्याउँछ। त्यसैले ‘होल्ड’ गर्ने क्षमता राखेर सेयर बजारमा लगानी गर्नुहोस्,’ सेयर बजार व्यापारिक चक्र भएको बताएका मन्त्री खतिवडाले भने, ‘यो चक्रमा जसले धैर्य गर्न सक्छ, उसले नै सफलता हात पार्छ।’
अर्थमन्त्री खतिवडाले मुलुकको वित्तीय बजारको सन्तुलनका लागि सेयर बजार अपरिहार्य भएको बताए। यद्यपि पूँजीबजारबाट संकलित रकम उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा उनले जोड दिए।
सेयर बजारको वर्तमान अवस्थाको बारे अध्ययन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको र सो कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने अर्थमन्त्री खतिवडाले अर्थ समितिको बैठकमा जानकारी दिए।
सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री डा खतिवडालाई आज अर्थ समितिले बैठकमा बोलाएको हो। तर, समितिको बैठक कोरम नपुगेपछि बिना निर्णय स्थगित भएको छ। समितिले सेयर बजारका विज्ञहरुसँग यस बारेमा छलफल गर्ने बताएको छ।