काठमाडाै- मलेसियाको एक कम्पनीले तीन सय नेपाली कामदारलाई लगातार ३६ घन्टासम्म काम गर्न बाध्य पारेको खुलेको छ। नेपालीलाई स्कुडाई जोहरबारुस्थित बिजिएस सेक्युरिटी एसडिएन बिएचडी कम्पनीले करिब तीन सय नेपाली कामदारलाई अमानवीय रूपमा काम गर्न बाध्य पारेको हो । समस्यामा परेका सबै कामदार सेक्युरिटी गार्डको काम गर्न गएका छन् ।
‘यहाँ हामी लगातार ३६ घण्टासम्म काम गर्न बाध्य छौं,’ बाँके घर भएका एक कामदारले भने, ‘काममा नगएर शारीरिक र मानसिक यातना सहनुपर्छ । नेपालमा गरिएको करारपत्रअनुसार पारिश्रमिक पनि पाएका छैनौं । उल्टै अनेक बहानामा तलबबाट रकम काटिन्छ।’
बिजिएस सेक्युरिटी कम्पनीले अधिकांश नेपाली श्रमिकलाई दोहोरो करारपत्रमा हस्ताक्षर गर्न लगाएको उनले बताए । ३५ जनासम्मको समु्हमा बस्दै आएका आफूहरूले साप्ताहिक र सार्वजनिक विदा समेत नपाएको गुनासो गर्दै उनले घर फर्किन चाहे पनि अनुमति नपाएको बताए ।
सो कम्पनीमा रहेका अधिकांश नेपाली कामदारलाई ललितपुरको नाइस ओभरसिज र काठमाडौंको चप्पल कारखानास्थित जब स्पोट इन्टरनेशनलले पठाएका हुन् ।
चाहेर पनि फर्किन सक्दैनन्
कम्पनीले कामदारलाई नेपाल फर्किन नदिन आफ्नै नियम बनाएको छ । ६ हजार रिंगेट (१ लाख ६० हजार रुपैयाँ) बुझाउनुपर्ने मनोमानी नियम राखेको छ । तर, म्यानपावरबाट जाँदा भएको करारअनुसार तलब नपाएकाले उनीहरू यति धेरै पैसा तिरेर देश फर्किन सक्ने अवस्था छैन।
‘६ हजार रिंगेट धरौटी बुझाएर मात्रै फर्किन पाउने शर्त राखेको छ । भागेर फर्किउँ भने पासपोर्ट कम्पनीले नै राखेको छ,’ एक कामदारले भने । तर, गत महिनामात्रै नेपाल–मलेसीयाबीच भएको श्रम समझदारीले पासपोर्टलगायत कागजात आफैँ राख्न पाउने अधिकार कामदारलाई दिएको छ। कम्पनीको अत्याचार सहन नसकेर एक वर्षको अवधिमा सो कम्पनीबाट १६ जना कामदार भागिसकेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा गोपाल साउदले लेखेका छन्।