+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय पूँजीको विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्छ: अध्यक्ष दाहाल

पालिका लाइभ
२०७५ मंसिर १५, शनिबार १९:४९ गते

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती’ विषयको पुस्तक सार्वजनिक गर्दै उहाँले सरकारको कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिनुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने `हाम्रा विकास नीति, बजेट तथा कार्यक्रम राष्ट्रिय पूँजी निर्माण गर्न केन्द्रित छन् की छैनन्, समाजवादको आधारका रुपमा रहेको राष्ट्रिय पूँजीको विकास गर्न खोज्दा हाम्रो गतिविधिले कतै दलाल पूँजीको विकासमा मद्दत पुगेको त छैन भन्ने प्रश्न गरे ।´

समाजवाद उन्मुख राजनीति, अर्थतन्त्र, संस्कृति र विकासको समग्र आयामबारे चिन्तन, मनन र अध्ययन गर्नुपर्ने समय आएको बताउँदै उनले समाजवादतर्फ अघि बढ्ने प्रयास जारी रहेको बताए । “अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो, कम्युनिष्ट आन्दोलनभित्र अत्यन्त रुढीवादी चिन्तन हावी देखिएको अवस्थामा समाजवादको धरातललाई बलियो बनाउनु जरुरी छ ।” उनले भने ।

राम्रो भविश्यको चाहनामा विभिन्न चरणमा जनताले सङ्घर्ष गरेको स्मरण गर्दै उनले सङ्घर्षको एउटा बिन्दुमा समझदारीमार्फत गरिएको राजनीतिक घोषणा राज्यका अङ्गले अङ्गीकार गर्न नसक्दा पूराना र नयाँ लडाइँमा पूरानो विचार हावी भएको समेत दावी गरे । उनले भने “सडकमा सङ्घर्ष गर्दा राजनीतिक नेतृत्व हावी हुने तर सत्तामा पुग्दा राजनीतिक नेतृत्व असफल हुने अवस्था सिर्जना भएको छ ।”

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व संविधानको आधारस्तम्भका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले यी चार आधारस्तम्भ मध्ये एक कमजोर हुँदा मुलुक अप्ठ्यारोमा पर्न सक्नेतर्फ सचेत गराए । उनले भने, “सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास भइराखेको छ, यसलाई संस्थागत बनाउन सबै एकताबद्ध हुनु जरुरी छ ।”

पुस्तकमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविश्द्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भूसालले संविधानले निर्दिष्ट गरेका र नेकपाको चुनावी घोषणापत्रले परिकल्पना गरेको स्वाधीन अर्थतन्त्रको निर्माण कसरी सम्भव छ भन्ने विषयलाई पुस्तकले प्रष्टयाएको बताए ।

साङ्ग्रीला बुक्सले प्रकाशनमा ल्याएको पुस्तकमा विचार, विकास, उद्योग र श्रम तथा भूमि र कृषि गरी तीन खण्डमा नेपालको अर्थराजनीतिक अबस्थाका बारेमा विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ