पोखरा – जारी पोखरा प्रिमियर लिग(पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा पल्टन दोस्रो चरणमा पुगेको छ। शनिबार पोखरा रंगशालामा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गर्दै पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो।
पोखराले ५ खेलमा ३ जितसहित ६ अंक जोड्यो। ६-६ अंक नै जोडेका हुलास काठमाडौं रोयल्स र चितवन राइनोज भने नेट रनरेटमा पछि पारे। जसले गर्दा दुवै टिम इलिमिनेटर खेल्न बाध्य भए। चितवन र काठमाडौंबीच आइतबार इलिमिनेटर खेल हुनेछ। जित हात पार्ने टिमले मंगलबार फाइनलमा पोखरासँग खेल्नेछ।
यता एक्स्पर्ट धनगढी ब्लुजलाई भने रनरेटले पिडा दिलायो। काठमाडौं र चितवनसँग समान अंक भएपनि धनगढी समूह चरणबाटै बाहिरिन बाध्य भयो। यता २ जित निकालेको बुटवल ब्लास्टर्स र १ मात्र जित हात पारेको विराटनगर भने यसअघि बाहिरिसकेका थिए।
सन्दीप लामिछानेसहित ४ खेलाडीलाई कारबाही
पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिता दौरान खेल भावना विपरित व्यवाहार देखाएका ४ खेलाडी कारबाहीमा परेका छन्। शनिबार पोखरा रंगशालामा भएको खेलमा अभद्र व्यवहार देखाएका विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेलाई आइसिसी आचार संहितअनुसार कारबाही गरिएको पिपिएलले जनाएको छ।
खेलमा अम्पयरसँग नो बलको विषयमा विवाद गरेका सन्दीपको १ अंक घटाइएको छ। चितवन टाइगर्सविरुद्धको खेलमा विराटनगरका किशोर महतोको बललाई अम्पायरले नो बल दिएपछि सन्दीपले विवाद गरेका थिए। सन्दीपसँगै विवादमा उत्रिएका तीव्र गतिका बलर किशोर महतोलाई पनि कारबाहीमा परे। उनको पनि १ अंक घटाइएको छ।
सोहि खेलमा अम्पायरसँग विवाद गरेका चितवनका खेलाडी सनी पटेललाई पनि सोही कारबाही गरिएको छ। सो खेलमा चितवनले विराटनगरलाई ४ विकेटले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो।
यता हुलास काठमाडौं रोयल्सका अमनरसिंह रटेउला पनि कारबाहीमा परेका छन्। उनको पनि १ अंक घटाइएको छ। अमरले शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा रेफ्रीसँग अभद्र व्यवहार देखाएका थिए।