काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्तमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ ।
बार्सिलोनाको मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ५–१ को जित निकालेको हो । स्टार स्ट्राइकर लियोनल मेस्सीबिना नै मैदान उत्रिएको बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक पूरा गरे ।
उनले खेलको ३० औं मिनेटमा पेनाल्टीबाट गोल गरे भने दोस्रो हाफको ७५ र ८३ औं मिनेटमा गोल ह्याट्रिक पूरा गरे । यस्तै कौटिन्हो र अर्टुरो भिडालले एक एक गोल गरे । सन् २००७ पछि पहिलो पटक लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो बिना एल क्लासिको भिडन्त भएको थियो ।
आजको जितसँगै बार्सिलोनाले मेस्सीबिना एल क्लासिको भिडन्तमा जितको कीर्तिमान बनाएको छ । पछिल्ला १० वर्षमा मेस्सीबिना बार्सिलोनाले एल क्लासिको जितेको थिएन ।
यस्तै बार्सिलोनाले सन् १९५९ देखि ६९ को बिचमा रियल मड्रिडले लगातार २२ एल क्लासिकोमा गरेको गोलको कीर्तिमानको बराबरी पनि गरेको छ ।
मेस्सी घाइते भएका कारण एल क्लासिकोको यो भिडन्तमा थिएनन् भने रोनाल्डो रियल छाडेर युभेन्टस गएकाले दुई स्टार खेलाडीबिना नै एल क्लासिको भएको हो ।