काठमाडौं-सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । जिल्ला समन्वय समितिअन्तर्गत रहेका कर्मचारीबारे विवरण संकलन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिसस कार्यालयका नाममा पत्र काट्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले जिसस (साविकका जिल्ला विकास समिति)मा साविक स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ को प्रावधानअनुसार स्थायी नियुक्ति भएका कर्मचारीको विवरण इमेलमार्फत तीन दिनभित्र अनिवार्य उपलब्ध गराउन निर्देशन दिइएको छ ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहमा साविकको जिविस, संघीय मन्त्रालय तथा अन्य मन्त्रालयले पनि कर्मचारी पठाएकाले त्यसको यथेष्ट विवरण संकलन गर्न विवरण उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए ।
जिससले मन्त्रालयमा विवरण पठाउँदा कर्मचारीको नाम, पद, नियुक्ति मिति, अनिवार्य अवकाश हुने अनुमानित मिति, नियमानुसार पाउने सेवा, निवृत्त सुविधा, स्थानीय तहमा खटाइएको भए तहको नामसमेत पठाउन भनिएको छ ।
मन्त्रालयले चालू आवमा अवकाश हुने कर्मचारीका लागि लाग्ने रकम, कर्मचारी कल्याण कोषमा रहेको मौज्दात रकम, सेवा निवृत्त भइसकेको तर भुक्तानी दिन बाँकी रहेको भए सो रकमसमेत उपलब्ध गराउन अनुुरोध गरेको छ ।