काठमाडाैँ- यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी २५ वर्षीया नादिया मुरादको कथा दर्दनाक छ । उनी चरमपन्थी संगठन इस्लामिक स्टेटका लडाकूहरुबाट बलात्कृत मात्रै भइनन् चरम यातना समेत भोगिन् । मुराद याजिदी समुदायकी महिला हुन् ।
याजिदी भनेको कुर्दहरुको एक उपसमुदाय हो । कतिपयले यसलाई इस्लामी सुफी मान्यता र केही इसाई विश्वासको समिश्रण पनि मान्छन् । याजिदीहरु खासगरी पश्चिमी इराकको सिन्जा क्षेत्रमा बस्छन् ।
नादिया मुराद सन् २०१४ मा चरमपन्थी इस्लामिक स्टेटको अपहरणमा परिन् र तीन महिनासम्म राखेर उनलाई लडाकूहरुले बलात्कार गरे । उनी त्यसबेला ६ कक्षामा पढ्थिन् ।
इस्लामिक स्टेट आउनुभन्दा अघि उनी आमा र भाईबहिनीसँग उत्तरी इराकको शिन्जा नजिकै रहेको कोचु गाउँमा बस्थिन्, जुन गाउँका अधिकांश मानिसहरु खेतीकिसानी गरेर आफ्नो जिविका चलाउँछन् ।
आईएसको कब्जाबाट बाहिर आएपछि उनले आफ्नो कहानी बीबीसीको एक कार्यक्रममा पोखिन् । जहाँ उनले भनिन् ः– हाम्रो गाउँमा करिब १ हजार ७ सय जना बस्छन् ।
हामीलाई आईएसले आक्रमण गर्दैछ भन्ने कुनै जानकारी थिएन । ३ अगस्ट, २०१४ को कुरा हो, जब आईएसले याजिदीहरुमाथि हमला गरे, तब केही मानिसहरु भागेर शिन्जातर्फ भागे ।
तर हाम्रा गाउँ धेरै टाढा थियो र हामी कही भागेर जाने अवस्था नै थिएन । हामीलाई ३ देखि १५ अगस्टसम्म बन्धक बनाएर राखियो । त्यतिबेला तीन हजारभन्दा बढीलाई आईएसले हत्या गरेको र करिब ५ हजार महिला तथा बालबालिकालाई आफ्नो कब्जामा लिएको खबरहरु आउँथे ।
त्यसबेलासम्म हामीलाई अबको अवस्थाबारे करिब करिब जानकारी भइसकेको थियो । यसै क्रममा चरमपन्थी आए र हामीलाई कब्जामा थिए । हामी केही गर्न सक्दैन थियौं । हामीलाई २ दिनभित्र धर्म परिवर्तन गर्न चेतावनी दिइयो ।
१५ अगस्टमा म आफ्नो परिवारसँगै थिए । हामी धेरै डराएका थियौं । किनकि हाम्रा अघि जे भइरहेको थियो, त्यसबाट हामी डराइसकेका थियौं । त्यो दिन आईएसका करिब १ हजार लडाकू गाउँमा घुसे । हामीलाई स्कुलमा लगे ।
एउटा भवनमा पुरुषलाई राखे र अर्कोमा महिला र बच्चाहरुलाई राखियो । हामीसँग भएका सबै सामान पनि लुटे । हाम्रो मोबाइल, पर्स, पैसा, सबैथोक लगेपछि उनीहरुका नेताले हामीलाई ठूलो स्वरमा कराएर इस्लाम धर्म कबुल गर्न चाहेनेहरु कोठा छाडेर जान आदेश दिए ।
हामीलाई कोठा छाडेर गयो भने मार्छन् भन्ने थाहा थियो, किनकि उनीहरु इस्लाम कबुल्ने यजिदीलाई असली मुस्लिम होइन भन्ने ठान्थे । उनीहरु यजिदीलाई इस्लाम कबुल गराएर मार्न चाहन्थे । महिला हुनुका नाताले हामीलाई मार्दैनन् बरु हामीलाई अरु नै काममा प्रयोग गर्छन् भन्ने हामीलाई लागेको थियो ।
जब पुरुषहरुलाई बाहिर लगिदै थियो, तब हामीलाई के भइरहेको छ भन्ने थाहा भएन तर त्यहाँ हामीले गोली चलेको आवाज सुन्यौं । को को मारिएका छन् भन्ने हामीलाई थाहा थिएन, मेरा भाई र अरु मानिसहरु त्यहाँ मारिएका थिए ।
उनीहरुले बच्चा, जवान र बुढाहरु केही हेरेनन् । हामीले सबैलाई गाउँभन्दा बाहिर लगेको देख्यौं । लडाकूले एक जनालाई स्कुलमा छाडे । उनले बताएअनुसार लडाकुले कसैलाई पनि छाडेनन्, सबैलाई मारिदिए ।
सबैलाई मारिसकेपछि उनीहरुलाई हामीलाई अर्को गाउँमा लगे । त्यतिबेला रात परिसकेको थियो । त्यहाँ पनि हामीलाई स्कुलमा राखे र हामीलाई ३ वटा समूहमा विभाजन गरे । पहिलो समूहमा युवा महिला, दोस्रोमा बच्चा र तेस्रोमा बाँकी महिलाहरु थिए ।
सबै समूहका लागि उनीहरुको अलग योजना थियो । बच्चालाई उनीहरुले प्रशिक्षण शिविरमा लिएर गए । जुन महिलालाई उनीहरुले विवाहका लागि योग्य ठानेनन्, उनीहरुको हत्या गरे, जसमा मेरी आमा पनि थिइन् ।
राति हामीलाई मोसुल लगे । हामीलाई त्यहाँ लिएर जानेहरु मेरै भाइहरु र आमाका हत्याराहरु थिए । उनीहरुले हामीमाथि शोषण र बलात्कार गरिरहेका थिए । म केही पनि सोच्न सक्ने अवस्थामा थिइनँ ।
उनीहरुले हामीलाई मोसुलको इस्लामिक अदालतमा लगे । जहाँ उनीहरुले हरेक महिलाको फोटो खिचे । त्यहाँ हजारौं महिलाको तस्बिर देख्न सकिन्थ्यो । हरेक तस्बिरसँग फोन नम्बर हुन्थ्यो । त्यो फोन नम्बर त्यो लडाकुको हुन्थ्यो, जो महिलाका लागि जिम्मेवार थियो ।
सबै क्षेत्रका आईएस लडाकू इस्लामिक अदालतमा आउँथे र फोटो हेरेर आफ्ना लागि युवती छान्थे । युवती छानेपछि लडाकूहरु ति युवती ल्याउने लडाकूसँग मोलमोलाई गर्दथे । उसले चाहेमा महिलालाई बेच्न, भाडामा दिन वा चिनजानको कसैलाई उपहार दिन पनि सक्थ्यो ।
पहिलो रात हामीलाई लडाकूसँग पठाइयो । धेरै मोटो लडाकू थियो, जो मलाई चाहनथ्यो । म भने उसलाई घृणा गर्दथेँ । जब म सेन्टरमा गएँ, तब म भुईमा थिएँ । मैले उसका खुट्टा देखेँ र उसका सामू जान्न भनेर धेरै नै अड्डी कसेँ, तर उसले मेरो कुरा सुनेन ।
एक हप्तापछि मैले भाग्ने कोशिस गरेँ । उनीहरुले मलाई अदालतमा लगे र सजायका रुपमा ६ जना सुरक्षा गार्डले बलात्कार गरे । तीन महिनासम्म म माथि यौन शोषण भइरह्यो ।
यो इलाकामा चारैतिर आईएस लडाकू फैलिएका थिए । तीन महिनासम्म मैले भाग्ने मौका पाइनँ । एकपटक म एक पुरुषको साथमा थिएँ । उ मेरा लागि केही कपडा किनिदिन चाहन्थ्यो, किनकि उसको उद्देश्य मलाई बेचिदिने थियो ।
जब उ पसलमा गयो, त्यसबेला म घरमा एक्लै थिएँ र त्यहाँबाट भागेँ । मोसुलका गल्लीहरुमा भागिरहेका बेला मैले एउटा मुस्लिम परिवारको ढोका ढक्ढक्याएँ र म माथि भएको सबै उत्पीडनबारे सुनाए ।
उनीहरुले मलाई सहयोग गरे र कुर्दिस्तानको सीमासम्म प¥याउँन सहयोग गरे । शरणार्थी शिविरमा कसैले मेरो पीडा सोधेनन् । म संसारलाई म माथि के भयो र त्यहाँ महिलाहरुमाथि के भइरहेको छ भनेर सुनाउन चाहन्थेँ । म सँग पासपोर्ट थिएन, नागरिकता पनि थिएन । म आफ्नो कागजपत्र पाउन कैयौं महिनासम्म इराकमा बसिरहेँ ।
त्यही समय जर्मन सरकारले त्यहाँका १ हजार मानिसहरुलाई सहयोग गर्ने निर्णय ग¥यो । त्यसमध्ये म एक जना थिएँ । फेरि आफ्नो उपचार गराउने क्रममा एक संगठनले मलाई संयुक्त राष्ट्रसंघमा गएर आफ्नो दुःख पीडा सुनाउन भन्यो । म यो कहानी सुनाउन विश्वको कुनै पनि देशमा जान तयार छु ।
३ अगस्टमा बन्धक बनाइएकी उनी नोभेम्बर २०१४ सम्म मोसुलमा बन्धक बनिन् र भाग्न सफल भइन् । त्यहाँबाट निस्किएपछि उनले यजिदीहरुको मुक्ति र मानव तस्करी रोक्ने अभियान सुरु गरिन् ।
यस्ता दुव्र्यवहार संगठित रुपमा भएका थिए । उनीलगायत ३ हजारभन्दा बढी यजिदी महिलाहरुलाई आईएसले बन्धक बनाएर यातना दिनका साथै बलात्कार गरेका थिए । मुराद २३ वर्षको उमेरमा सन् २०१६ मा मानवतस्करीबाट जोगिएका व्यक्तिको आत्मसम्मानका लागि संयुक्त राष्ट्रसंघकी सद्भावना दूत बनिन् ।