गोरखा – आरुघाट क्षेत्रको मुआब्जा निर्धारणको लागि सो क्षेत्रका सरोकारवालाहरुले दबाब सुरु गरेका छन् ।
गोरखा र धादिङ दुबै जिल्लाका सरोकार समितिका प्रतिनिधिहरु, स्थानीय राजनितिक दलका प्रतिनिधिहरु, सांसदहरु लगायतको टोलीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराउन सुरु गरेको सरोकार समितिका जगन खनालले जानकारी दिए ।
यथाशिघ्र आरुघाट क्षेत्रको मुआब्जा निर्धारण गर्नुपर्ने, उचित मुल्य कायम गर्नुपर्ने, पुर्नस्थापना र पुर्नबासको ग्यारेन्टी गरिनु पर्ने, तोकिएको मुआब्जा वितरण तिब्रता दिनु पर्ने लगायतका कुरामा प्रभावितहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन ।
सोही अनुरुप धादिङका जनप्रतिनिधिहरु, सरोकारवालाहरु सहितको टोलीले मंगलबार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेललेको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्री पौडेलले बुढीगण्डकी प्रभावितको पिडाबारे आफू चिन्तित भएको भन्दै प्रदेश सरकारले आयोजना निर्माण र प्रभावितको उचित व्यवस्थापनका लागि केन्द्रसँग आवश्यक समन्वय गर्ने आश्वासन दिएका छन् ।
बुधबार गोरखाका पट्टिका जनप्रतिनिधिहरु स्थानीय राजनितिक दलका प्रतिनिधि, सरोकार समितिका प्रतिनिधि लगायतको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको ध्यानाकर्षण गराउने कार्यक्रम तय गरिएको छ ।