गोरखा– ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता असोज २८ गते हुने भएको छ। लिगलिग कोट विकास अभियानले गोरखामा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता आगामी असोज २८ गते गर्ने जानकारी दिइएको हो।
गोरखाको चेपेघाटबाट सुरु हुने दौड लिगलिगकोट दरबारमा आएर टुङ्गिनेछ। दौड १३ दशमलब ८ किलोमीटरको हुनेछ। प्रतियोगिताको विजेतालाई ६० हजार १ सय रुपैयाँसहित लिगलिगेको राजा घोषित गरिने अभियानका महासचिव सन्तोष देवकोटाले बताए।
यस्तै विजेतालाई श्रीपेच, पगरी, ट्रफी प्रदान गर्नुका साथै एक रात राजाका रुपमा राखिने आयोजकले जनाएको छ। राजालाई मोटरमा राखेर नगर परिक्रमा गरिने उनले जानकारी दिए।
सम्बन्धित समाचार- लिगलिगे दौडको तयारी तिब्र, को होला नयाँ राजा ?
प्रतियोगितामा दोस्रो हुनेले ३५ हजार १ सय, तेस्रो हुनेले २५ हजार १ सय, चौथो हुनेले १२ हजार १ सय र पाँचौँ हुनेले ७ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन्।
लिगलिगे दौडअन्तर्गत नै ५ किलोमिटरको समावेसी महिलातर्फको विजेताले २० हजार पाँच, दोस्रोले १२ हजार पाँच र तेस्रो हुनेले ७ हजार पाँच रुपैयाँ पुरस्कार पाउनेछन्।
वि.सं. १९१६ मा द्रव्य शाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो आठ वर्षयता हुँदै आएको छ। प्रतियोगिताका लागि आउने खेलाडीका लागि खाने–बस्ने व्यवस्था आयोजकले नै गर्नेछन्। यस्तै खेलाडीका लागि ७ लाखको बीमासमेत गरिएको आयोजकले जनाएको छ।
नेपाल एकीकरण अघिको बाइसे–चौबिसे साना राज्यमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो। पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिग कोट भ्रमणका लागि आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए।
वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो। राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ।
पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ।