गुल्मी – गृहमन्त्री रामबहादुर थापा (बादल) ले ९५ प्रतिशत बलात्कारी गिरफ्तार भइसकेकाे दावी गरेका छन् । विश्व मुटु दिवसको अवसरमा तम्घासमा सञ्चालित निशुःल्क बृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले यस्ताे दावी गरेका हुन् ।
उनले ९५ प्रतिशतभन्दा बढी घटनाका बलात्कारीहरुलाई सरकारले गिरफ्तार गरी कानुनको कठघारामा उभ्याइसकेको र अन्य बाँकी आपराधिक क्रियाकलाप गर्नेलाई कानुनको कठघरामा ल्याउने दावी गरे ।
महिलाहरुको सुरक्षामा महिलाहरु नै उठ्नु पर्ने भन्दै उनले त्यसका लागि सरकारले सधैँ साथ दिने बताए । ‘देशमा सुशासन हुनुपर्छ, योभन्दा अगाडि सुशासन भएन, यहाँ भन्दा अघिका शासकहरुले कुशासन गरे’, उनले भने, ‘जसका कारण देशमा समृद्धि र विकास भएन, देश समृद्ध नहुँदा नेपाली पीडित भए ।’
सरकारलाई कसरी गिराउने भनेर षड्यन्त्र भइरहेको छ
‘अहिले जुन सरकार आएको छ, यसले देशलाई सम्बृद्ध बनाउन र सुशासन कायम गर्न काम गरिरहेको छ’ उनले भने, ‘भ्रष्टहरुलाई कारबाही गर्ने, बलात्कारीहरुलाई कारबाही गर्ने, तस्कर र ठगहरुलाई कारबाही गरिरहेको हुनाले उनीहरु जुर्मुराइरहेका छन् र यो सरकारलाई कसरी गिराउने भनेर षड्यन्त्र भइरहेको छ ।’
बलात्कारहरुलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले महिलाहरु पनि जागरुक हुनु पर्ने बताए ।
जनस्तरमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेकोतर्फ संकेत गर्दै उनले यो सदनमा पनि उठ्नु पर्ने बताए । गृहमन्त्री थापाले भने, ‘जनता र सरकार मिले मात्रै बलत्कार अपराधीलाई कठोर भन्दा कठोर सजाय दिन सकिन्छ ।’