काठमाडाैँ- च्याम्पियन्स लिग फुटबलमा विभिन्न इतिहास आफ्नो नाममा लेखाएका पोर्चुगिज क्रिष्टियानो रोनाल्डो रातो पाएपछि मैदानबाट रुँदै बाहिरिएका छन् । रोनाल्डोका लागि स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्सटको यात्रा त्यति सहज देखिएको छैन ।
च्याम्पियन्स लिगमा पछिल्ला ६ सिजन सर्वाधिक गोलकर्ता बन्दै आएका र सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डोले नयाँ क्लब युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्यु सायद जीवनभर भुल्ने छैनन् ।
यो सिजनको च्याम्पियन्स लिग अभियान अन्तर्गत बुधबार राति समूह एच अन्तर्गतको पहिलो खेलका लागि स्पेनिस क्लब भ्यालेन्सियाको मैदान पुगेको रोनाल्डोसहितको युभेन्टस टिम आशको बलियो सञ्चार थियो । तर यो खेलको पहिलो हाफ नै रोनाल्डोका लागि र उनका फ्यान अनि युभेन्टस समर्थकका लागि निकै भयानक बनेर आयो ।
रोनाल्डोले खेलको २९ औँ मिनेटमा सीधै रातो कार्ड पाए र मैदान छोड्न बाध्य भए । रोनाल्डोले च्याम्पियन्स लिगमा कुल १५४ खेल खेलेका छन् र यो पहिलो पटक हो उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको छ ।
युभेन्टसबाट सिरी ए का सुरुका तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले चौथो खेलमा दुई गोल गरे, त्यो पनि च्याम्पियन्स लिगको यो खेल भन्दा केही दिनअघिको खेलमा । यसले रोनाल्डो अब लयमा फर्किएको देखियो । तर बुधबारको रात रोनाल्डोका लागि खेल जीवनकै खराब मध्ये एक बनेर आयो । उनले आँसु रोक्न सकेनन् ।
सन् २०१६ को युरोकप फाइनलको क्रममा चोटका कारण खेल्नै नसकेर मैदानबाट बाहिरिने क्रममा रोनाल्डो यसैगरी रोएका थिए । अहिले फेरि युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्युमा रोए ।
प्रतिक्रिया