विश्वराज अधिकारी
मैले पच्चीस वर्षपछि कान्ता दिदीलाई भेटेको थिएँ, वीरगंजमा, गीता मन्दिर नजिक । कान्ता दिदीलाई पच्चीस वर्षपछि भेट्दा मैले कस्तो अनुभव गरें, त्यो बेलिबिस्तार लगाउनुभन्दा पहिले म त्यो बेला, त्यो समय–बिन्दुमा तपाईंलाई लग्न चाहन्छु जुन समय–बिन्दुमा कान्ता दिदी बि. ए. अनि म आइ. कम. मा ठाकुर राम क्याम्पस, वीरगंजमा पढ्ने गथ्र्यौ ।
कान्ता दिदी अनि मेरो, हामी दुवैको घर छपकैयामा थियो । तर अहिले हामी दुवैको घर त्यहाँ छैन र यो भन्नुपर्दा मेरो मुटुमा कसैले सियोले चसक्क घोचिदिएझैं भएको छ, मलाई । हामीले वीरगंज किन छाड्नुपर्यो त्यसको पनि आफ्नै रामकहानी छ, सुनाउँला त्यो कुनै दिन, पछि ।
काठमाडौंबाट हामी दुवै एकै समय वीरगंज पुगेका थियौं, जुन केवल संयोग थियो । वीरगंजबाट बसाइँ नै सर्ने गरी काठमाडौतिर हिंडेको पाँच वर्षभन्दा बढी भए तापनि बेला–बेला वीरगंज जाने क्रम भने टुटेको थिएन ।
आफू बसेको परिवेश, समय र भूगोलको माया अति नै अचम्मको हुँदो रहेछ । र त्यही मायाले घरीघरी तानेर ल्याउँदो रहेछ आफ्नो पुरानो थलोमा । चुम्बकझैं तानेर पुर्याएको थियो मलाई वीरगंजमा त्यही मायाले । अनि त्यस्तै भएको थियो कान्ता दिदीलाई पनि ।
विगत लामो समयसम्म मैले कान्ता दिदीलाई भेट्न सकेको थिइनँ र त्यो पनि एउटा संयोग नै थियो, एउटै सानो शहरमा, त्यति लामो समयसम्म । म जागिर र अध्ययनको सिलसिलामा देश–विदेश भौंतारिने मान्छे भएकोले पनि त्यस्तो भएको हुन सक्छ ।
आफ्नो यौवनकालमा कान्ता दिदी अति राम्री हुनुहुन्थ्यो । मलाई लाग्छ, कान्ता दिदी जति राम्री कोही थिएन, वहाँका समकालीनहरूमा । कान्ता दिदी जति राम्री हुनुहुन्थ्यो स्वभावले त्यति नै हक्की पनि ।
कसैसँग नडराउने स्वभावकी । जुन बेला वीरगंजेली समाज अहिले जति खुला भइसकेको थिएन, कान्ता दिदीका केटी–साथीभन्दा बढी केटा–साथीहरू थिए । म कुरा गर्दैछु २०३४–३५ साल क्याम्पस पढ्दाखेरिको । वीरगंजको लागि बाहिरी विश्वसँगको साक्षात्कार भनेको बिबिसी रेडियो सुन्नु र रक्सौल हुँदै आउने भारतीय पत्रपत्रिका पढ्नु, आकाशवाणी र अल इन्डिया रेडियो सुन्नुसम्म सीमित थियो ।
अँ, त, म कुरा गर्दै थिएँ कान्ता दिदीको । कान्ता दिदीको एउटा बानी अचम्मको थियो । त्यो के भने वहाँ आफ्ना समकालीन मात्र होइन आफूभन्दा ठूला उमेरकाहरूलाई पनि नाम काढेर र तँ भनेर बोलाउनुहुन्थ्यो । वहाँले कुनै केटालाई दाई वा कुनै केटीलाई दिदी भनेको मैलै सुनिनँ ।
एक चोटीको घटना हो, कान्ता दिदी रिक्सामा चढेर छपकैयाबाट क्याम्पस आउँदै हुनुहुन्थ्यो, हतारिंदै, ढिलो भएकोले, क्लासभित्र पस्न । क्याम्पसको गेट अगाडि रिक्सा रोकिएपछि वहाँले कति भाडा भयो भनी रिक्सावालालाई सोध्नुभयो । रिक्सावालाले चलन चल्तिको रेटभन्दा तीन गुना बढी भाडा भन्यो ।
वीरगंजको गर्मीले त्यसै पनि कान्ता दिदीको दिमाग तातिरहेको थियो, त्यसमाथि थपिएको थियो क्लासभित्र कुन बेला पस्न पाइएला भन्ने चिन्ता । त्यस्तो स्थितिमा रिक्सावालाले भनेको त्यो भाडाले त झनै तताइदियो वहाँको दिमाग । रिक्सावालालाई लगातार चार चड्कन हिर्काउनुभयो । रिक्सावाला रुन थाल्यो ।
बिहान १० वा यस्तै ११ बजेको समय थियो, विद्यार्थीहरू हतार–हतार क्याम्पस प्रवेश गर्दै थिए । धेरै विद्यार्थीहरू त कान्ता दिदीले थप्पड हिर्काएपछि उत्पन्न तमासा हेर्न अडिएका थिए, क्याम्पसको मूल गेट अगाडि, क्लास जान बिर्सेर । त्यो घटनापछि ‘कान्ता दिदीको थप्पड’ निकै प्रख्यात भएको थियो, क्याम्पसमा ।
कुनै विद्यार्थीले कसैलाई तर्साउनमात्र होइन, साथी–साथीबीच ख्याल–ठट्टा गर्दा पनि ‘कान्ता दिदीको थप्पड’ खालास् है भन्ने गरिन्थ्यो । त्यो थप्पड प्रकरणपछि क्याम्पसमा कान्ता दिदीसँग डराउने विद्यार्थीहरूको सङ्ख्यामा ह्वात्तै बढेको थियो ।
छिमेकमा पनि कान्ता दिदीको अगाडि पर्न कम उमेरका त के बढी हुनेहरू पनि डराउँथे । कहिलेकाहीं, कसैले कुनै गल्ती गरेको कान्ता दिदीको आँखा अगाडि परेमा बोली र हात दुवैले एकै साथ सम्झाउने गर्नुहुन्थ्यो । कान्ता दिदीको साहस देखेर म दङग पर्थें । तर म भनें वहाँसँग पटक्कै डराउँथिन थिएँ ।
मलाई थाहा थियो, कान्ता दिदीले गल्ती गर्नेलाई मात्र गाली गर्ने, हिर्काउने गर्नुहुन्छ । रिस र घमण्डमाथि नियन्त्रण गर्न नसकेर वहाँले कसैसँग रुखो व्यवहार गरेको मैले कहिले देखिनँ । खासमा भन्ने हो भने कान्ता दिदीको व्यक्तित्व नरियलजस्तो थियो, बाहिरबाट एकदमै सार्हो तर भित्र भने अति नरम ।
म कहिलेकाहीं जिस्किएर वहाँलाई भन्थें– कान्ता दिदी, बिहे भएपछि भिनाजुलाई सार्है तर्साउनु होला जस्तो छ । मेरो कुरा सुनेर कान्ता दिदी रिसाएकोजस्तो गर्नुहुन्थ्यो तर एकै छिनपछि हाँस्दै भन्नुहुन्थ्यो– तर्साउने मात्र हो, परे चड्काइ पनि दिन्छु, बुझ्यौ ।”
कान्ता दिदी बाटोमा हिंडदा वहाँलाई नहेर्ने मान्छे बिरलै हुन्थे । जवानहरूको त के कुरा, बूढाहरू पनि उत्तिकै लठ्ठिएर हेर्थे । त्यत्तिकै ट्वाल परेर हेर्न नसक्नेहरू कुनै बहाना बनाएर हेर्थे ।
मर्यादाको घेरा भित्र बसेको नाटक गर्नेहरूले पनि कुनै न कुनै मौका झिकेर अरूले चाल नपाउने गरी हेर्थे । हेदिर्नं भनेर विपरीत दिशामा टाउको घुमाउनेहरूको पनि एक चोटी नजर ठोकिन्थ्यो कान्ता दिदीको अनुहारमा । मर्यादाको पर्खाल नाघ्नेहरूले त झन पूर्ण छुट नै पाएका थिए ट्वाल्ल परेर हेर्न ।
पुरुषहरूले मात्र होइन, महिलाहरूले पनि उत्तिकै हेर्ने गर्थे, केही आश्चर्य मानेर त केही इष्र्या गरेर । हुनत हेर्नेहरूको पनि आफ्नै किसिमको विवशता थियो । त्यो के भने कान्ता दिदीको रूपले हेरेक व्यक्तिलाई विवश पारिदिन्थ्यो वहाँतिर हेर्न । दोष न हेर्नेको थियो र कान्ता दिदीको । दोष कसैको थियो भने त्यो थियो रूपको । र यो कुरा कान्ता दिदीलाई राम्ररी थाहा थियो । त्यसैले शिष्टतापूर्वक कसैले वहाँलाई हेर्दा वहाँबाट कुनै प्रतिक्रिया आउँथेन ।
तर अलिकति पनि कसैले अशिष्टता देखाएमा, कान्ता दिदीको क्रोधाग्नि तत्काल त्यसलाई डढाउन उद्यत हुन्थ्यो । र धेरैपटक त्यस्तो भयो पनि । म एक चोटिको कुरा गर्छु, कान्ता दिदी सिनेमा हेर्न गएको बेलाको । वीरगंजको कुनै सिनेमा हलमा, देव आनन्द वा राजेश खन्ना हिरो भएको फिल्म थियो कुनै, मलाई ठीकसँग याद भएन तर त्यो जमानाको कुनै चर्चित हिरोको फिल्म थियो त्यो ।
कुनै एउटा केटाले जिस्क्यायो, कान्ता दिदीलाई, टिकट काट्ने झ्याल अगाडि । जिस्काएको मात्र होइन, केही गर्यो पनि त्यसले । कान्ता दिदीले त्यो केटाको सर्टको कालेर समातेर दुई चार फाइट कस्नुभयो । केटाको ओंठ काटिएर रगत बग्न थाल्यो । एक छिनको लागि त्यो दृश्य तमासा नै बन्यो, त्यहाँ ।
केही महिलाहरूले भने पनि ‘ठीक गर्नु भयो बैनी, यी मोरा गुन्डाहरूले त हैरान नै पारेका थिए । कसैले यिनीहरूलाई केही गर्न नसकेको हुनाले मन बढेको थियो यिनीहरूको, धधाएका थिए, त्यसै त्यसै । पोखिए मोराहरू, धेरै उम्लिएको हुनाले ।’ केही केटाहरूले पनि वहाँको त्यो कार्यलाई उचित ठहर्याए । उनीहरूले पनि भने ‘ठीक गर्नुभयो दिदी’ । कान्ता दिदी मख्ख पर्नुभएको थियो त्यो दिन, कुनै ठूलो उपलब्धि हात पारेझैं गरेर । त्यो दिन पनि संयोग नै भन्नुपर्छ ।
म पनि पुगेको थिएँ त्यो फिल्म हेर्न । तर म भने त्यो घटनापछि मात्र हलमा आइपुगेको थिएँ र के के भयो त्यहाँ भन्ने कुरा कान्ता दिदीले भनेपछि मात्र थाहा पाएँ । मलाई देख्ने बित्तिकै कान्ता दिदीले भन्नुभयो ‘थाहा त भएको नै होला तिमीलाई के भयो भनेर ।’ मैले छोटो उत्तर दिएँ– थाहा पाएँ, कान्ता दिदी । उहाँले फेरि भन्नुभयो ‘बुझ्यौ नवीन, त्यसले अब कुनै केटीलाई जिस्काउने हिम्मत गर्ने छैन, एक्लो देखेर । यदि त्यसको मगजमा भूस भरिएको छैन भने ।’
अब चाहिं म कान्ता दिदीसँग पच्चीस वर्षपछि वीरगंजको गीता मन्दिर अगाडि भेट भएपछि हामीबीच के के कुरा भए त्यो भन्छु । मलाई गीता मन्दिर अगाडि त्यसरी अप्रत्याशित देखेपछि कान्ता दिदीको आश्चर्यको सीमा रहेन ।
म पनि उत्तिकै आश्चर्यमा परेको थिएँ । मेरो मुहारतिर हेर्दे वहाँले भन्नुभयो–कसरी एक्कासि यहाँ, अनि वीरगंज कहिले… कता हो आज भोलि ? कान्ता दिदीले मेरो न नाम लिएर, न तँ वा तिमी नै भनेर मलाई सम्बोधन गरेको मैले प्रस्ट थाहा पाएँ । लामो समयसम्म वहाँले मलाई नदेखेको हुनाले मलाई के भनेर सम्बोधन गर्नुहुन्थ्यो भन्ने कुरा बिर्सेर पनि त्यसो भएको हुन सक्छ भन्ने अनुमान गरें ।
कुराको सिलसिला मैले नै अगाडि बढाएँ । वर्तमानका घटनाहरूभन्दा पनि स्मृतिको सागरमा डुबुल्की लगाएर शीतल समयको स्नान गर्न मन लाग्यो मलाई । कान्ता दिदीलाई पनि त्यस्तै लागेको हुनुपर्छ, अनुमान गरे मैलें । हामी गीता मन्दिरलाई छाडेर घडिअर्वा पोखरीको पश्चिमपट्टि आइसकेका थियौं ।
मैले घडिअर्वा पोखरीतिर हेर्दै भनें–पहिले यो केवल पोखरी थियो, अहिले हेर्नुस् त कान्ता दिदी, यो पोखरी कति भव्य भएको छ । याद छ तपाईंलाई हामी छठमा यहाँ आउने गरेको, त्यो बेला यहाँ यस्तो केही पनि थिएन । हामी हरेक छठमा यहाँ आउने गथ्र्यौ, न बिराएर । मैले चाहिं कान्ता दिदी नै सम्बोधन गरें ।
मेरो भनाइमा कान्ता दिदीले छोटो प्रतिक्रिया दिनुभयो–हो, त्यो बेलाको सम्झना अहिले पनि ताजै छ । क्याम्पसबाट माईस्थान मन्दिर आउँदा यै बाटो भएर आउने गरेको पनि उत्तिकै सम्झना छ । अनि उत्तिकै सम्झना छ क्यम्पसका ती दिनहरू । यति भनेर केही सम्झेझैं गर्नुभयो । फेरि भन्नुभयो–अहिले कुन साल चलिरहेको छ, हँ ? मैले भनें– अहिले २०६८ साल चलिरहेको छ ।
कान्ता दिदीले भन्नुभयो–हामीले ठाकुर राम क्याम्पसमा पढेको पनि तीन दशकभन्दा बढी भएछ, है । मैले भनें–समय बितेको थाहा नै हुँदैन । कति छिटो बित्छ समय । आफैंलाई हेर्नुस् न, कति परिवर्तन भएको छ । हुनत अहिले पनि उत्तिकै राम्री हुनुहुन्छ, तपाईं, कान्ता दिदी । तर जवानीमा तपाईं अझै राम्री हुनुहुन्थ्यो ।
सात सूर्यको प्रकाश छरिएझै हुन्थ्यो तपाईंको मुहारमा । एकदमै कमलको फूल फक्रेझैं थियो तपाईंको मुहार । अनि तपाईं बोल्ड पनि उत्तिकै हुनुहुन्थ्यो । याद छ, तपाईंलाई, क्याम्पसमा केटाहरू तपाईंको
अगाडि पर्न पनि डराउँथे । आँखा छलेर हेर्थे तपाईंलाई, तपार्इंले थाहा नपाउनेगरी । तर तपाईंलाई आदर पनि उत्तिकै गर्थे । कति छिटो बित्यो त्यो समय, हेर्दाहेर्दै १
मेरो कुरा सुन्दै हुनुहुन्थ्यो कान्ता दिदी तर कुनै प्रतिक्रिया देखाउनु भएन । कुरा गर्दागर्दै हामी माईस्थान मन्दिरभित्र प्रवेश गरेको थाहै पाएनौं । त्यति मात्र हो र, मन्दिरबाट बाहिर आएको पनि थाहा भएन । हामी यन्त्रवत् हिंडिरहेका थियौं, विगतका कुराहरूमा गफिएर । हामी माईस्थान चोकमा थियौं ।
मेरो मनमा अनायास के सोच आयो कुन्नि, मलाई केही भन्न बाध्य पार्यो । मैले भनें– कान्ता दिदी, आफ्नो समयमा तपाईं निकै बोल्ड हुनुहुन्थ्यो, अहिले पनि हुनु होला भनी म भन्न सक्छु, विश्वासका साथ । अनि कान्ता दिदीको बिहेबारी, अनि केटाकेटी, श्रीमान् ।
कान्ता दिदीले छोटो उत्तर दिनुभयो– छैन, केही पनि ।
एकै छिनपछि कान्ता दिदीले फेरि भन्नुभयो–खोइ, म त्यति बोल्ड भए तापनि कुनै मोराले मेरो अगाडि आएर भन्न सकेन मलाई, कान्ता म तिमीलाई माया गर्छु भनेर ।
अरूको के कुरा, तिमीले त भन्न सकेनौ, कान्ता, म तिमीलाई माया गर्छु, तिमीसँग बिहे गर्न चाहन्छु भनेर, तिमी मेरो वरिपरि चक्कर काट्ने गरे तापनि, मलाई मन पराएको भए तापनि ।
कान्ता दिदीको कुरा सुनेपछि म आकाशबाट खसेझैं भएको थिएँ । एउटा कुरा मैले तपाईंलाई न भन्ने हो भने मेरो भनाइ अधूरो हुन पुग्छ । त्यो के हो भने, कान्ता दिदीलाई मैले कुनै नाताले गर्दा दिदी भनेको चाहिं होइन ।
सबैले वहाँलाई कान्ता दिदी भनेको हुनाले नै मैले पनि कान्ता दिदी भन्न थालेको थिएँ, त्यो बेला । र उमेरको कुरा गर्ने हो भने म कान्ता दिदीभन्दा एक दुई वर्ष जेठो नै हुँला । एसएलसीमा म दुईचोटि फेल भएकोले कान्ताभन्दा जुनियर हुन पुगेको थिएँ, क्याम्पसमा ।