काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारा पत्ता लगाउन सरकार गम्भीर रहेको बताएका छन् । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मला पन्तका बाबुआमासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।
प्रधानमन्त्रीले निर्मलाको हत्या भएकै दिन देखि वास्तविक अपराधीको खोजी गर्न प्रहरीलाई निर्देशन दिएइको दावी गरे। ‘घटनाको वास्तविकता पत्ता लगाउन र दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि डिआइजीको नेतृत्वमा उच्च स्तरीय छानविन समिती गठन गरिएको छ । केही प्रहरीहरुलाई निलम्बन गरिएको छ’ प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरु ढुक्क हुनुहोस । घटनाको गहिराई सम्म पुगेर पनि निर्मलाका हत्यारा पत्ता लाग्छन् । उनीहरुलाई कानुनी कठघरामा उभ्याइन्छ ।’
उनले निर्मलाको अभिभावक आफू पनि भएकोले घटनामा गम्भिर भएको बताए । ‘निर्मला मेरी पनि छोरी हुन् । उनी नेपालकी छोरी हुन्’ उनले भने ‘सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन प्रहीलाई कडा निर्देशन जारी गरेको छ ।’
केही समय यता बलात्कार र हत्याका घटनामा वृद्धी भएकोमा प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे । ‘कञ्चनपुरमा त्यत्रो घटना भएको छ । फेरी त्यही ठाउँमा अरु यस्ता घटना दोहोरिरहेका छन् । यो गम्भिर बिषय हो’, उजले भने । निर्मलाको हत्यारा पत्ता लगाइदिन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज निर्मलाका बाबुआमा,कञ्चनपुरका राजनीतिक दल,अधिकारकर्मी सहितकाे टोली बालुवाटार पुगेकाे थियाे ।