गाेरखा- उत्तरी गोरखाको आकाशमा हेलिकप्टरको चाप बढ्न थालेको छ । भदौ महिना लागेसँगै मान्छे र सामान बोक्ने हेलि उडानको क्रम बढ्न थालेको हो ।
‘भदौ २७ देखि असोज १८ गते भित्र ५० फ्लाइटका लागी सिफारिस गरिसकेका छौ,’ जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी गौतम भण्डारीले भने, ‘३५ फ्लाइट कारगो (सामान बोक्ने) र १५ फ्लाइट चार्टर (मान्छे बोक्ने) छन् ।’
जिल्ला प्रशासन कार्यालयले गरेको सिफारिसको आधारमा गृह मन्त्रालय अन्तरगतको अध्यागमन तथा सिमा प्रशासन शाखाले उडान अनुमति दिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए ।
‘बिरामी र मान्छे बोक्नका लागी हाम्रो सिफारिसको आधारमा अध्यागमन तथा सिमा प्रशासन शाखाको अनुमति भए पुग्छ तर सामानका लागी नागरिक उद्यान प्राधिकरणको पनि थप अनुमति चाहिन्छ,’ उनले भने । आकस्मिक उद्धारका लागी भने मौखिक सिफारिसकै आधारमा पनि अनुमति पाउने प्रजिअ भट्टराइको भनाइ छ
सडक पहुँच नभएका कारण उत्तरी गोरखाका कतिपय स्थानीयहरुको सामान ढुवानी सँगै आवतजावतको माध्यम हेलिकोप्टर बन्ने गरेको छ । सँगै मनास्लु क्षेत्रमा जाने पर्यटकको रेस्क्युका लागी हेलि उडान हुने गरेको प्रजिअ भट्टराइ बताउछन् ।
‘मौसम सफा भएको दिनमा चार÷पाँच वटा फ्लाइट हुन्छ,’ मनास्लु संरक्षण क्षेत्रका भिम प्रसाद उपाध्यायले भने, ‘तर प्राय पानी परिरहेको छ, मौसम पनि सफा नभएको दिन चै उडान भएको त्यति देखिदैन ।’
बिशेष गरी गोरखामा अल्टिच्युड, फिसटेल, सिम्रिक, एभरेष्ट लगायतका हेलिले सेवा दिदै आएका छन् । स्वास्थ्य सेवाको पहुँच नहुदा पनि उपचारका लागी महँगो रकम तिरेर हेलि चार्टर गर्न स्थानीयहरु बाध्य छन् ।
हेलि उडानमा कडाई
उत्तरी क्षेत्रमा हेलि उडानमा कडाई गरिएको छ । तिव्वत सँगको खुल्ला सिमाना भएकाले तस्करी हुने सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालयले उडानमा कडाइ गरेको हो ।
उत्तरी क्षेत्रमा उड्ने हेलि अनिवार्य रुपमा सदरमुकाममा ल्याण्ड भएर प्रशासनले तोकेको एक जना कर्मचारी लिएर जानुपर्ने प्रावधान छ । साथै चेकजाँचमा पनि कडाइ गरिएको प्रजिअ भट्टराइले बताए ।
चोकजाँचमा कडाइ गरेसँगै केही दिन अघि उत्तरी गोरखाको सिर्दिवासमा दश किलो सुन सहित दुइ जना पक्राउ परेका थिए ।