काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यावसायीको काँधमा देश निर्माणको जिम्मा रहेको बताएका छन् ।
तत्कालिन नेकपा (एमाले) निकट नेपाल निर्माण उद्योग परिषद र तत्कालिन नेकपा –माओवादी केन्द्र) निकट नेपाल राष्टिय निर्माण व्यवसायी संगठनको एकता घोषणा गर्दै प्रधानमन्त्रीले व्यावसायीको काँधमा देश निर्माणको जिम्मा रहेको बताएका हुन् ।
देशले राजनीतिक संघर्षको युग पार गरेर अब विकासको युगमा प्रवेश गरेको भन्दै उनले भने ‘समृद्ध नेपाल निर्माणको जिम्मा अब तपाईंहरुमा छ’ । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीहरुले क्षमता भन्दा बढीको काम जिम्मा लिएर विकास निर्माण कार्यलाई अलपत्र बनाउनु नुहने समेत उनकाे तर्क थियाे ।
‘दुई वटा काम गर्ने क्षमता भएकोले १० वटा काम ओगट्ने र निर्माण कार्य अस्तव्यस्त पार्ने शैली अब सरकारलाई सैह्य हुदैन’ प्रधानमन्त्रीले भने ‘सक्नेजति काम लिनुहोस । गुणस्तरीय काम गर्नुहाेस र फेरी नयाँ काम लैजानुहोस ।’
निर्माणको टेण्डरमा न्यून अंकमा दाबी गर्ने र कमसल काम गर्ने प्रथाको अब अन्त्य हुने प्रधानमन्त्री ओलीले बताए । ‘अस्वस्थ्य प्रतिष्पर्धाका लागि न्यून अंकमा कबोल गर्ने र कमलसल निर्माण गर्नेहरु कारबाहीका भागिदार हुन्छन्’ उनले भने ‘त्यस्ता कमसल निर्माणलाई पनि ठिक छ भनेर सदर गर्ने इन्जिनियर वा अन्य सरकारी कर्मचारीलाई कारबाही गरिन्छ । त्यस कामका लागि अनुगमन माथी थप अनुगमन हुन्छ ।’
निर्माण व्यवसायीहरुले उठाएका जायज माग सरकारले पुरा गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गरे । ‘तपाईंहरुका वास्तविक समस्या सरकार सुन्छ । खरिद ऐन, निर्माण सामग्री समयमा उपलब्ध गराउनेकुरा,समयमा रकम प्राप्त नहुने समस्या अब झेल्नु पर्दैन’ प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरुले काम गर्दा गर्दै कुनै योजना पुरा हुन विलम्ब भएको भए त्यसको बिषयमा सरकारले विचार गर्छ ।’