काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र गतिमा आर्थिक विकास गर्न खोजेको बताएका छन् ।
‘सरकार तीव्र गतिमा आर्थिक विकासलाई ड्राइभ गर्न खोज्दैछ,’ काठमाडौंमा भएको आर्थिक विकास सम्बन्धी एक बहस कार्यक्रमको उद्घाटमा प्रधानमन्त्री ओलीले भने, ‘विगतमा विभिन्न काराणले बन्द भएका उद्योगहरु पुनः सञ्चालन र नयाँ उद्योगको स्थापना सरकारको प्राथमिकतामा छ ।’
प्रधानमन्त्री ओलीले दुई तिहार्इ बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि भएको र अहिलेको समय स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई राम्रो मुनाफा कमाउने उपयुक्त अवसर भएको बताए ।
प्रधानमन्त्रीले नेपालका अधिकांस जनता कृषिमा आश्रित भएकोले सरकार यो क्षेत्रको आधुनिकिकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक रहेको बताए । ‘नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छन्’ उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताह्रुलाई आग्रह समेत गरेका छन् । ‘नेपालमा अहिले लगानीको वातावरण बनेको छ । विदेशी लगानीकर्ताहरुलाई पनि म ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु’ ।
प्रधानमन्त्री ओलीले आर्थिक विकास मात्रै सरकारको मूख्य लक्ष्य नभएको भन्दै उनले सुखी नेपालीको चाहना अनुसार काम भइरहेको बताए । ‘समृद्ध नेपाल खुसी नेपाली सरकारको लक्ष्य हो । विकासले मात्रै मान्छे खुसी हुँदैन,’ प्रधानमन्त्री ओली भन्छन्, ‘सुरक्षा चाहिन्छ । स्वतन्त्रता चाहिन्छ । त्यस अनुरुपको अधिकार प्रत्योजना गर्न सरकार प्रयासरत छ ।’