काठमाडाैं- प्रधानमन्त्री केपी ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीच सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न ऐतिहासिक तथ्य र नक्सालाई मुख्य आधार बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्। नेपाल– भारतको सीमा सम्बन्धी समस्या समाधान गर्न गठित कार्य दल नापी विभागको नेतृत्वमा रहेको छ।
नेपाल–भारत सीमा समस्या समाधानका लागि गठित कार्य दलको बैठक काठमाडौंमा बस्दैछ। सो बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
दुई मुलुकबीचको सीमाको यकिन गर्न सीमा क्षेत्रमा रहेका दुवै मुलुकका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न पनि उनले निर्देशन गरेका छन्। नेपालको हितलाई केन्द्रमा राखेर दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि आवश्यक पहल कदमी लिन प्रधानमन्त्री ओलीले निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी भएको बैठकमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कतिपय ठाउँमा सीमा स्तम्भ हराएको जानकारी गराए। यसैगरी नदीले धार परिवर्तन गरेका कारण कतिपय ठाउँमा सीमा निर्धारणमा कठिनाई भएको लगायतका समस्या प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।
ओलीले सीमासम्बन्धि सो समस्या दुवै मुलुकको स्थानीय प्रशासनसँग छलफल गरेर समाधान गर्न निर्देशन दिएका छन्। सीमा समस्या समाधान गर्न नेपाल–भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा कार्यदल गठन गरिएको छ। सो कार्यदलको बैठक आगामी साता काठमाडौंमा बस्दैछ ।