काठमाडौँ- प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको हो।
विष्टलार्इ प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ ।
यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका छन् । त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् । रोशनी हाजिर जमानीमा छुटेकी थिइन् भने बबिता ३० हजार रुपैयाँ धरौटीमा छुटेकी हुन् ।
मुलुकी फौजदारी कार्य्विधि (संहिता) २०७२ को दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई धरौट वा जमानत लिई वा उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था छ ।