गोरखा– गृहमन्त्री रामबहादुर थापाले जसरी पनि समाजवाद ल्याउने बताएका छन् । गोरखाको पालुङटार स्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘समृद्ध र सुखी नेपालको स्थापना नै समाजवाद हो, भ्रष्ट्राचारी, दलाली, ठग, तस्कर, घुस खाने प्रशासक, प्रहरी, वैदेशिक रोजगारमा ठगी गर्ने दलालहरू, सिण्डीकेटधारीहरु, उपभोक्ता समितिका नामबाट विकासमा अवरोध पु¥याउनेहरु, महिला दिदी बहिनीहरूलाई बेचबिखन गर्नेहरू, काम नगर्ने ठेकेदारहरू, बलात्कार गर्नेहरू, जग्गा दलाल, जनताका काममा ढिला सुस्ती गर्नेहरू समाजवादका बाधक रहेकाले यिनीहरूलाई ठेगान लगाएर समाजवाद ल्याइन्छ । ’ उनले भने ।
जनवादी क्रान्ति पूरा भएको बताउँदै अबको क्रान्ति समाजवादी क्रान्ति भएको उनले बताए । समाजवादी क्रान्तिका मुख्य दुस्मनहरू पहिचानको क्रममा रहेको उनको भनाई थियो । सहिदहरूका बलिदानको पाठलाई नयाँ ढङ्गबाट सिक्नुपर्ने बताउँदै समाजवाद के हो र यसका बाधक को हुन भनेर गहिरिएर अध्ययन गर्नुपर्ने बेला आएको मन्त्री थापाको भनाई छ ।
जनयुद्धका समय गोरखामा के गरेछन् थापाले ?
आज भन्दा तीन दशक अगाडि सिरानचोकको डाँडामा बसेर सल्फर कार्बन घोटेर बारुद निर्माण गरेका थियौँ । पार्टी हेडक्वार्टर गोरखामा स्थापना गरी गोरखाबाट जनयुद्धको थालनी गरिएको थियो ।
के हो समाजवाद ?
समाजवाद भनेको समृद्धि र विकास हो । जनतालाई समृद्ध र सुखी बताउने हो । समाजवाद भनेको सबै शिक्षित, सुखी र रोजगार प्राप्त हुने अवस्था हो । हिजोका राजतन्त्र, जमिनदारहरूलाई पन्छाउनका लागि गणतन्त्र स्थापना गरे जसरी नै समाजवाद स्थापनामा बाधा पार्नेहरू विरुद्ध सबै एक भएर लाग्नुपर्छ ।
को हुन समाजवादका विरोधी ?
घुसलिने र दिने, भ्रष्ट्राचारी, जनताका काम नगर्ने प्रशासकहरू, प्रहरीहरू, व्यापार व्यवसायमा सिन्डिकेट कायम राख्न चाहनेहरू, ठेकेदार, ठग, तस्कर, जल, जंगल र जमिनको मिचाई गर्नेहरू समाजवादका विरोधी हुन ।
सरकार के गरेर बसेको छ ?
नेकपा नेतृत्वमा सरकार बनेको ६ महिना हुँदा सम्म केही प्रगति भएन भनेर बाहिर बजारमा हल्ला गर्नेहरू धेरै छन् । पराजित मानसिकतालाई १०० ले गुणा गरेर जीत खोज्नेहरू यही समाजमा छन् ।
प्रतिगामी शक्ति राजनैतिक अस्थिरता कायम गरी सरकारलाई कमजोर पार्न उद्धत छ । सरकारले संघीयता लागू गरेको छ । धेरै कामहरू भएका छन् । ठोस योजनाहरू निर्माण भएका छन् । दुस्मनको भ्रममा हामीहरू पर्नुहुँदैन । सरकारको कामहरूमा चिन्ता र चासो राख्नु सल्लाह दिनु आम नागरिकहरूको कर्तव्य हो । सरकार समृद्ध राष्ट्र निर्माणका लागि काम गरिरहेको छ ।
सहिद सुरेश वाग्ले स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री थापाले लिगलिग कोट, हर्मीकोट, स्मृति प्रतिष्ठान र सिरान्चोकलाई एउटा सर्किटको रूपमा विकास गर्नुपर्ने र आफू सहयोगका लागि तयार रहेको बताए ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश संयोजक हितराज पाण्डेले सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलले देखाएको बाटोमा अविचलित भई निरन्तर काम गरिरहने बताए । प्रतिनिधि सभाका सभासद हरिराज अधिकारीले सहिद स्मृति प्रतिष्ठानले युद्ध सङ्ग्रहालय निर्माणको योजना बताउनुपर्ने बताए ।
कार्यक्रममा सहित सुरेश वाग्लेका छोरा विकास वाग्ले, नेकपाका नेता जुद्ध विलास भण्डारी, प्रदेश सभासद हरिशरण आचार्य लगायतले स्मृति मन्तव्य राखेका थिए ।
सुरेश वाग्ले र भीमसेन पोखरेलको २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले हत्या गरेको थियो । प्रतिष्ठानले कार्यक्रममा विभिन्न विद्यालयका गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षता र महासचिव लेखनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।