काठमाडाैं- पार्टी एकताका क्रममा आफूलाई अपमान गरिएको भन्दै आक्रोषित बनेका झलनाथ खनाल अझै सन्तुष्ट बन्न सकेका छैनन् ।
तत्कालिन माओवादी र एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन गर्दा खनाल चौँथो वरियतामा पुगेपछि रिसाएका हुन् ।
उनलाई भन्दा माधवकुमार नेपाललाई अघिल्लो वरियतामा राखेको कुराले खनालको मन झनै कुँडिएको छ । त्यसैले अहिले पनि उनी भन्ने गर्छन्, ‘मार्यादक्रम तोडेर ममाथि अपमान गरिएको छ । यसरी पार्टी चल्दैन ।’ एक टेलिभिजनसँग अन्तरवार्ता दिदैं खनालले पार्टीभित्र अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मात्रै मिलेर नहुने बताए ।
कार्यकर्तालाई पनि मिलाउनुपर्नेमा खनालले जोड दिए । “कम्युनिष्ट पार्टीले कसैलाई अन्याय गर्न पाईदैन । पार्टीभित्र नै अन्याय भयो भने बाहिर के हुन्छ ? कुनैबेला न्याय नपाए गोरखा जानु भनिथ्यो । अब न्याय नपाए नेकपामा जानु भन्ने हो । नेकपामै अन्याय हुन थालेपछि के हुन्छ ?” खनालले प्रश्न गरे ।
उनले अन्यायका बिरुद्धमा लड्ने बताएका छन् । वरियतामा गरिएको अन्यायपूर्ण कुरा माधव नेपालले कसरी स्वीकार गर्नु भयो भनेर खनालले अचम्म मानेका छन् ।