+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा प्राचीन र ऐतिहासिक महत्व कायम राख्न आवश्यक : ज्ञवाली

पालिका लाइभ
२०७५ भाद्र १८, सोमबार १३:२१ गते

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणमा प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न आवश्यक भएको बताएका छन्।

रानीपोखरी पुनर्निर्माणमा देखा परेको समस्याबारे छलफल गर्न पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा उनले पुरानो स्वरुपमा बनाउँदा त्यसको प्रामाणीकतालाई पनि जोड दिनुपर्ने बताएका हुन्।

रानीपोखरीको बालगोपालेश्वर मन्दिर मल्लकालीन शैली कि जंगबहादुर राणाको समयमा निर्माण भएको गुम्बज शैलीमा बनाउने भन्ने अन्योल जारी रहेका बेला ज्ञवालीले यसको टुंगो लगाउनका लागि केही पक्षमा स्पष्ट हुन जरुरी भएको धारणा व्यक्त गरे ।

एक सय वर्षअघिका सम्पदाहरुलाई कसरी प्रमाणित गर्ने, देखेको शैली अम्बलम्बन गर्ने कि त्यो भन्दा अघिल्लोमा जाने लगायतका पक्षमा स्पष्ट हुनुपर्ने भन्दै उनले रानीपोखरीको पुनर्निर्माणबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालय, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग थप छलफल गरेर छिट्टै टुंगो लगाउने दावी गरे ।

छलफलका क्रममा विज्ञहरुले भिन्दाभिन्दै धारणा व्यक्त गरेका थिए । केही विज्ञले रानीपोखरी मल्लकालमा निर्माण भएकाले मल्लकालीन शैलीमा बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले पुनर्निर्माणलाई अवसरका रुपमा लिनुपर्ने र पहिलेकै शैलीमा जानुपर्ने बताएका थिए ।

केही विज्ञले त्यसमा फरक धारणा व्यक्त गरेका थिए । उनीहरुले मल्लकालीन शैलीको स्केचबाहेक अरु प्रमाण नभएकाले भूकम्पले क्षति हुुुनुभन्दा अघिको गुम्बज शैलीमा जानुपर्ने धारणा व्यक्त गरेका थिए । मौलिकतालाई जोगाई अहिलेको पुस्ताले देखेको शैलीमा जानुपर्नेमा उनीहरुको जोड थियो ।

छलफलमा सम्पदा बचाउ अभियानका पक्षहरुले मल्लकालीन शैलीमा जानुपर्ने धारणा व्यक्त गरेका थिए ।

पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि रानीपोखरीमा रहेको बालगोपालेश्वरको मन्दिर निर्माण रोकिएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले मन्दिर निर्माण गर्दा मापदण्ड पूरा नगरेको भन्दै पुरातत्व विभागले निर्माण गर्न रोकेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics