गोरखा- बारपाक सुलिकोट गाउँपालिका वार्ड नं ७, देउरालीका बासिन्दाहरू एम्बुलेन्स खरिद गरि संचालन गर्न जुटेका छन् । वार्ड कार्यालयको पहलमा भएको अभियानलाई सफल गराउन कार्यालयको तर्फबाट नै ४ लाख बजेट छुट्याएको वार्ड अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।
बाँकि रकम संकलन गरि छिट्टै खरिद गर्न फेसबुकमार्फत अभियान चलाएकोमा हालसम्म करिब १० लाख सहयोग रकम प्राप्त हुने प्रतिवद्धता आईसकेको समाजसेवी ठाकुर धितालले जानकारी दिए। धितालका अनुसार देउरालीलगायत पन्द्रुङसहित बारपाक सुलिकोट गाउँपालिकाका सबै गाउँहरु, त्यसवरपरका आरुपोखरी, आरुआर्वाङ, मसेललाई समेत उक्त सेवाबाट प्रत्यक्ष लाभ हुने हुदा अभियान चलाएको छोटो अवधिमा नै यति धेरै सहयोगको प्रतिवद्धता प्राप्त भएको बताए ।
“हामि करिब १५ लाख संकलन भएपछि खरिदको लागि आवश्यक प्रक्रियामा अघि बढ्छौ”, अर्का अभियन्ता देबि अंगाईले भने, “यो मानवीय सेवामा सबैलाई सहयोगको लागि अपिल गर्छु” ।
यो अभियानमा गाउँपालिकाको कार्यालय, ७ नं वार्ड कार्यालय र देउराली स्वास्थ्य कार्यालयको प्रत्यक्ष सहयोग र सद्भाव रहेको छ भने अभियानमार्फत संकलित रकम जम्मा गर्न र एम्बुलेन्स खरिद गरि संचालन गर्न वार्ड अध्यक्ष कृष्ण गुरुङ अध्यक्ष रहनेगरी देउराली स्वास्थ्य चौकि प्रमुख भिमसेन धिताल सचिव र समाजसेवी बिनिता श्रेष्ठ कोषाध्यक्ष भएको समिति समेत गठन गरिएको छ भने सहयोग रकम जम्मा गर्न र संचालन गर्नका लागि राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखामा खाता समेत खोलेको छ ।
साथै सहयोग संकलनको लागि जनसाहरा युवा क्लबका अध्यक्ष संजित बरामको संयोजकत्वमा समिति बनेको छ । यस अभियानलाई सफल बनाउन सामाजिक संजाल र विभिन्न माध्यममार्फत प्रचार प्रसार गरि देश-विदेशमा रहेका देउरालीसहित छिमेकी गाउँका बासिन्दा तथा शुभचिन्तकहरूलाई सहयोगको लागि “देउराली एम्बुलेन्स क्याम्पिएन” नामक फेसबुक पेज बनाई सबैमा अनुरोध गरिरहेको अंगाईले बताए ।
सहयोग संकलनका लागि वार्ड अध्यक्ष गुरुङ, स्वास्थ्य प्रमुख भिमसेन धिताल, समाजसेवीहरु ठाकुर धिताल, देबि अंगाईसहित सुलभ अंगाईलगायत सक्रिय रहेको सामाजिक अगुवा नरबहादुर गुरुङले जानकारी दिए । रकम प्रतिबद्धता गर्नुभएका सहयोगी माहानुभावहरुलाई राष्ट्रीय बाणिज्य बैंक गोरखा शाखाको को खाता नं 306004024310 मा रकम जम्मा गराईदिनसमेत अनुरोध गरिएको अभियन्ता सुलभ अंगाईले जानाकारी दिए ।