गाेरखा- जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय बिस्थापित भै गोरखामा कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय स्थापना भएका छन् ।
गोरखा नगरपालिका ५ डण्डी डाँडास्थित साबिक जिल्ला कृषि विकास कार्यालयको भवनमा कृषि ज्ञानकेन्द्र र गोनपा ९ ठिगुरे स्वाँराको साबिक जिल्ला पशु सेवा कार्यालयको भवनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना भएको हो ।
दुबै कार्यालयको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरेका हुन् । दुवै कार्यालय गण्डकी प्रदेशको मातहतमा रहने व्यबस्था छ ।
संघीय सरकारले खारेज गरेको कार्यालय प्रदेश सरकारले नाम परिवर्तन गरेर पुनस्थापना गरेको हो । कृषि कार्यालयले यसअघि ६ सेवा केन्द्र र ८ सम्पर्क केन्द्रलाई स्थानीय तहमा हस्तान्तरण गरिसकेको छ ।
यसअघि कृषि कार्यालय अन्तरगत जिल्लाभर ४७ कर्मचारी रहेकोमा हाल १४ जना दरबन्दी स्वीकृत भएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताए । उनले भने ‘१४ जनामध्ये ४ जना पहिलेका कर्मचारी छौँ ।
बाँकी दरबन्दीमा कर्मचारी आउन बाकी नै छ ।’ ज्ञानकेन्द्रमार्फत जिल्लाको कृषि क्षेत्रको विकासकै लागि कार्यक्रम सञ्चालन हुने श्रेष्ठको भनाई छ । ‘यो कार्यालयबाट हामीले किसानका लागि तालीम, नयाँ किसिमका प्राविधिक ज्ञान, बाली अनुसन्धान, तथ्यांक संकलन लगायतका काम गर्छौ’ उनले भने ।
यसअघि जिल्ला पशु सेवा कार्यालय अन्तरगत जिल्लाभर ४९ कर्मचारी रहेकोमा अहिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा १० कर्मचारीको दरबन्दी कायम गरिएको छ । तीमध्ये ६ जना साविकको पशु सेवा कार्यालयका कर्मचारी नै छन् । पशु चिकित्सक सानुकाजी वन्तले बताए ।
‘हामीलाई बजेट, कार्यक्रम केही प्राप्त भएको छैन’, उनले भने, ‘आज कार्यालय स्थापना गरियो । अब मन्त्रालयबाट थप निर्देशन आउला, कर्मचारी आउनुहोला ।’ खासगरी पशु अस्पतालका रुपमा काम गर्ने उनले बताए ।
‘पशुमा कृत्रिम गर्भाधान, पशुहरुको औषधी उपचार लगायतका काम यहाँबाट हुन्छ’ उनले भने । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बाँझो जमिन ब्यबस्थापन, पशु बधशाला, किसान र उपभोक्ता बीचको बिचौलिया नियन्त्रण लगायतका काममा सघाउन प्रदेश सरकारलाई आग्रह गरे ।