काठमाडौं- श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकाली टोलीलाई ५ विकेटले पराजित गरेको छ । २१७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४२.४ ओभरमा पुरा गरेको हो ।
नेपालका लागि कप्तान पारस खड्का सर्वाधिक रन ५८ बनाएर आउट हुँदा, दिपेन्द्रसिंह ऐरी ५२, ज्ञानेन्द्र मल्ल ४५, आरिफ शेख २३ र सुभाष खकुरेलले २२ रनको योगदान गरे । त्यसैगरी श्रीलंकाली कोल्टस क्लबका लागि आयनाले २, मदुरा, लक्षण, हसनले ११ विकेट लिए ।
त्यसअघि टस जितेर व्याटिङ गरेको श्रीलंकाको कोल्ट्स क्रिकेट क्लबविरुद्ध नेपालले कसिलो बलिङ गर्दै ४९.५ ओभरमा अलआउट गरेको थियो । कोल्टस्को घरेलु मैदानमा भएको खेलमा नेपालका लागि सोमपाल कामीले ३, सागर पुन र करन केसी २ २ ललितनारायण राजबंशी १ विकेट लिएका हुन ।
त्यसैगरी, कोल्ट्सका लागि हसन हेवानले सर्वाधिक ५९, आयानाले ३६ र मदुरा लक्मलले ३१, विश्वले २६ रकृण्ण २४ बनाउनु बाहेक कसैले दोहोरो अंकको रन बनाउन सकेनन् ।
नेपाली क्रिकेट टोली भोली एसिया कप छनोट खेल्नका लागि मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा २९ अगष्ट देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् ।
प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।
छनोट खेलमा शीर्षस्थानमा रहने दुई टिमबीच विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ ।