+
Search

ताजा अपडेट +

पपुलर +

६ गाविसका चौधसय परिवारलाई इकोको साँढे सातहजार आर्थिक सहयोग

पालिका लाइभ
२०७२ चैत्र ६, शनिबार

गोरखा– भूकम्पले आहत भएका ६ गाविसका करिब चौधसय परिवारलाई इको नेपाल नामक एक गैर सरकारी संस्थाले बिउँ पुँजीको रूपमा व्यवसाय सञ्चालनमा सहयोग गर्ने उद्देश्यका साथ साँढे सात हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

विनाशकारी भूकम्पपछि आर्थिक रूपमा पछाडि परेका घरपरिवारको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यका साथ तिनीहरूलाई पहिलो किस्ताबापत उक्त रकम सहयोग गरिएको इको नेपालले जनाएको छ ।

वातावरण तथा बाल सरोकार संस्था –नेपाल (इको –नेपाल) ले डयान चर्चएडको साझेदारीमा गोरखा जिल्लाका धावा, बगुवा, मकैसिंग, ताङ्गलीचोक, भुम्लीचोक र घ्याल्चोक गाउँ विकास समितिहरूमा दीर्घकालीन जीविकोपार्जनका लागि भन्दै प्रति परिवार ७ हजार ५ सयका दरले आर्थिक सहयोग उपलब्ध गराइएको संस्थाका जिल्ला कार्यक्रम अधिकृत आशिष देवकोटाले बताए ।

करिब १४०० घरधुरीलाई उनीहरूको आफ्नै योजना अनुसार व्यवसाय सञ्चालनका लागि जीविकोपार्जनमा सुधार गर्न पहिलो चरणमा प्रतिपरिवार ७५०० रुपैयाँका दरले रकम वितरण गरिएको देवकोटाले बताए ।सं

संस्थाले आफ्नो कार्यक्षेत्रमा भूकम्पबाट भएको क्षतिबाट परेको प्रभाव कम गरी समाजलाई पहिलेकै अवस्थामा पुनर्स्थापित गराउने सरकारी प्रयासमा सघाउने हिसाबले खास गरी खानेपानी सरसफाइ तथा स्वास्थ्य प्रवर्द्धन, मनोसामाजिक सहयोग, जीविकोपार्जन, विपद्व व्यवस्थापन र आवास निर्माणमा प्राविधिक सहयोग गरी विभिन्न ५ क्षेत्रमा सहयोग कार्यक्रम चलाउँदै आएको संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेले बताए ।

आर्थिक सहयोगको रकम हस्तान्तरण गर्नु पहिले छनोट भएका जीविकोपार्जनको विषयगत समूहलाई जिल्ला पशु सेवा कार्यालयको सेवा केन्द्र र जिल्ला कृषि विकास कार्यालयको सेवा केन्द्रका तालिमप्राप्त प्रशिक्षकबाट प्रशिक्षित गरिएको थियो ।“ जीविकोपार्जन अन्तर्गत विभिन्न समुदायमा उनीहरू आफैँले छनौट गरेको व्यवसाय अनुसार तालिम आयोजना गरेर जीविकोपार्जनको कार्यक्रम अगाडि बढाउनु प्रशंसनीय कार्य हो ।

”पशु सेवा कार्यालयका भेटेरिनरी डाक्टर एवं प्रशिक्षक गोविन्द श्रेष्ठ बत्ताउँछन् । इकोको सहयोगले आफूहरूलाई उत्साह थपेको ताङलीचोकका एक किसानले उत्साहित हुँदै बताए । “रकम ठुलो नभए पनि यो बिउँ पुँजीले तरकारी खेतीका लागि प्लास्टिकको टनेल खरिदमा लगानी गर्ने योजना छ । ”ताङलीचोकका ती किसान दायाँदत्त पन्तले सुनाए ।

जीविकोपार्जनको लागि नगद हस्तान्तरण कार्यक्रम बैंक तथा सहकारी मार्फत गरिएको थियो । कार्यक्रम अधिकृत देवकोटा भन्छन् , “ सहकारीको अवधारणा ल्याउनु भनेको जीविकोपार्जनलाई थप दीर्घकालीन बनाउने योजना हो ।”

सहकारीमा बचत गर्ने बानीको विकास हुनुका साथै पारिवारिक व्यावसायिक योजनाअनुसार आवश्यक पर्ने थप रकम ऋण लिएर भए पनि आफ्नो व्यवसाय विस्तार गर्न सक्ने देवकोटाको विश्वास छ ।

संस्थाका अध्यक्ष न्यौपानेका अनुसार बगुवा गाविसमा बगुवा सुनगाभा बचत तथा ऋण सहकारी, भुम्लिचोकमा भैरवी कृषि सहकारी, घ्याल्चोकमा सामूहिक कृषि उत्पादन सहकारी संस्थाको सहकार्य र धावा,मकैसिंग र ताङ्गलिचोकमा प्रभु बैकको प्रत्यक्ष संलग्नतामा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

उनका अनुसार व्यवसायतर्फ उन्मुख भई पहिलो किस्ताको रकम सदुपयोग गर्ने परिवारलाई अनुगमन पश्चात् दोस्रो किस्ताबापत थप त्यत्ति नै रकम आर्थिक सहयोग उपलब्ध गराइने योजना रहेको देवकोटाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ